'शिवमायालाई सभामुख स्वीकार गर्न सकिँदैन'
काठमाडाैँ – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले उपसभामुख शिवमाया तुम्वाहाम्फेलाई सभामुखमा स्वीकार गर्न नसकिने बताएका छन् । नेकपा अध्यक्षद्वयवीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा भएको भेटवार्तामा प्रचण्डले कुनैपनि हालतमा तुम्वाहाम्फेलाई सभामुखमा स्वीकार गर्न नसक्ने अडान राखेका हुन् ।
सभामुख कसलाई बनाउने भन्ने बिषयमा पछिल्ला दिन सम्वन्ध सम्वादमा नरहेका दुइ अध्यक्षवीच आजको भेटमा सौहार्दपूर्ण कुराकानी भएको प्रचण्ड सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार ६ माघको प्रतिनिधिसभा बैठक अगावै सभामुख उम्मेदवारमा सहमति जुटाउन दुइ अध्यक्ष सकारातमक देखिएका छन् ।
प्रचण्डको अध्यक्षतामा २६ पुसमा बसेको सचिवालयको बैठकले उपसभामुखलाई राजीनामा गराउने निर्णय गराएका थिए । त्यो दिन अर्का अध्यक्ष ओली भने अस्पताल गएका थिए ।
अध्यक्षद्वयमा त्यही दिनदेखि सम्बन्ध बिग्रेको थियो । तर, उपसभामुखलाई राजीनामा दिलाउने सचिवालयको बैठकभन्दा पहिला अथवा २३ पुसमा भैंसेपाटीमा भएको गोप्य भेलाबाट नै ओली प्रचण्डको सम्बन्धमा तिक्तता आएको थियो ।
प्रचण्डको अध्यक्षतामा बसेको सचिवालय बैठकको निर्णय पनि अहिले बेवारिसेजस्तो बनेको छ । उपसभामुखले राजीनामा नदिने अडान लिएपछि प्रचण्ड अप्ठेरोमा परेका छन् । उनी त्यसको विकल्प र कानुनी परामर्शमा पनि लागेका छन् ।