News

काठमाडौंका ३५ स्थानमा ‘स्मार्ट ट्राफिक लाइट’ राखिने

काठमाडौंका ३५ स्थानमा ‘स्मार्ट ट्राफिक लाइट’ राखिने

काठमाडौंः काठमाडौंका १२ स्थानमा ट्राफिक लाइट बल्न थालेका छन् । सडक विभाग र ट्राफिक प्रहरी महाशाखाको समन्वयमा मित्रपार्क, पुरानो बानेश्वर, नयाँ बानेश्वर, सिंहदरबार, गौशाला, महाराजगन्ज चोक, कालिमाटीका दुई स्थान, तीनकुने, पद्मोदय चोक, पुतलीसडक र बागबजारमा पुस अन्तिम सातादेखि ट्राफिक लाइट बल्न थालेका हुन् । २० वर्षअघि जाइकाले बनाइदिएको ट्राफिक लाइट पुनः प्रयोगमा ल्याइएको हो । 

मर्मत गरेर सञ्चालनमा ल्याइएका ट्राफिक लाइट दीर्घकालीन नहुने भएपछि अर्को विकल्पसमेत खोजिएको छ । सडक विभागले आगामी आर्थिक वर्ष ट्राफिक लाइटको विकल्पमा सेन्सरका आधारमा सडकको चापअनुसार सञ्चालन हुने स्मार्ट लाइट जडान गर्ने  योजना बनाएको हो । 

नयाँ बानेश्वर, सिंहदरबार, गौशाला, महाराजगन्ज चोक, कालिमाटी, तिनकुने, पद्मोदय चोक, पुतलीसडक, थापाथलीलगायतका ३५ स्थानमा स्मार्ट लाइट सञ्चालनमा ल्याउने विभागको योजना छ । विभागका महानिर्देशक इन्जिनियर केशवकुमार शर्माले भने ‘हाल सञ्चालनमा आएको ट्राफिक लाइट ट्राफिक व्यवस्थापनको दीर्घकालीन विकल्प होइन । स्मार्ट लाइटसँगै अन्डरग्राउन्ड, ओभरग्राउन्ड चल्ने मेट्रो रेल र ठूला सवारीसाधन सञ्चालनमा आए मात्रै दीर्घकालीन रूपमा ट्राफिक समस्या समाधान हुन्छ ।’ उपत्यकामा दर्ता भएका १२ लाख सवारीसाधनमध्ये १० लाख सञ्चालनमा रहेका महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

अभ्यस्त नहुँदा समस्या 

महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले प्रयोगकर्ता बत्तीसँग अभ्यस्त हुन केही समय लाग्ने बताए । उनले भने ‘ट्राफिक व्यवस्थापनमा समस्या नरहे पनि प्रयोगकर्तालाई ट्राफिक लाइटसँग अभ्यस्त हुन १५ दिन जति लाग्न सक्छ ।’ प्रयोगकर्ता अभ्यस्त भइसकेपछि ट्राफिक समस्या व्यवस्थापन हुने महाशाखाको दाबी छ । ट्राफिक लाइटको व्यवस्था गरिएका स्थानमा पनि ट्राफिक प्रहरी खटिएका छन् । लाइटसँग प्रयोगकर्तालाई अभ्यस्त गराउन प्रहबरी खटिनुपरेको महाशाखाको तर्क छ । सडक विभाग अन्तरर्गतको सडक सुरक्षा तथा ट्राफिक शाखाकी इन्जिनियर वन्दना आचार्य ट्राफिक लाइटको प्रयोग सुरुवाती चरणमा भएकाले ट्राफिक व्यवस्थापनमा समस्या आउनु स्वाभाविक भएको बताउँछिन् । 

परम्परागत लाइटका समस्या

हाल सञ्चालनमा आएका ट्राफिक लाइट सवारी चापअनुसार चल्दैनन् । ‘हामीले प्रयोगमा ल्याएको ट्राफिक लाइट परम्परागत प्रविधिमा आधारित छन् । त्यसैले, ट्राफिक लाइट प्रयोगमा आउँदासमेत ट्राफिक व्यवस्थापनमा समस्या भइरहेको छ । एउटा चोकमा हरियो बत्ती बल्दा अर्को चोकमा रातो बल्न सक्छ । यसले ट्राफिक व्यवस्थापनमा समस्या पर्छ ।’ महाशाखाका एक अधिकारीले भने, ‘ट्राफिक समस्याको दीर्घकालीन व्यवस्थापन स्मार्ट लाइट नै हो ।’  काठमाडौंका व्यस्त चोकमा सरदर पाँच–पाँचजना ट्राफिक प्रहरी खटिने गरेका छन् । ट्राफिक लाइटको प्रयोग पछि पनि सोही संख्यामा प्रहरी खटिएका छन् । तर, स्मार्ट लाइनको प्रयोग भएका एउटा चोकमा दुईजनासम्म भए पुग्ने अधिकारीहरू बताउँछन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो । 

काठमाडौं स्मार्ट ट्राफिक लाइट

विशेष