भौतिकमन्त्रीलाई आफ्नै कर्मचारीले धम्क्याउँदै भने– तिमीलाई के गर्नुपर्छ मैले जान्या छु

भौतिकमन्त्रीलाई आफ्नै कर्मचारीले धम्क्याउँदै भने– तिमीलाई के गर्नुपर्छ मैले जान्या छु

‘मन्त्री भएँ भन्दैमा आफ्नो हैसियत बिर्सिने ? जे मन लाग्यो, त्यही भन्ने ?’ यसो भन्दै हाकिम जंगिदा शान्तपूर्वक सम्झाउने प्रयास भयो, ‘मन्त्रीसंग बोल्दा हैसियत त तपाईं बिर्सिदै हुनुहुन्छ ।’ तर जवाफ आयो– ‘तिम्रो हैसियत मलाई राम्रोसंग थाहा छ । के गर्नुपर्छ, मैले पनि जान्या छु ।’

बहिर्गमित मन्त्रीका ‘खास’ भनी चिनिएका हाकिम नयाँ मन्त्रीसंग मुठ्ठी बटारेर गतहप्ता मुखमुखै लागेपछि हंगामा मच्चिएको छ । रघुवीर महासेठका ठाउँमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हाल्न पुगेका बसन्त नेम्बाङसंग सहसचिव राजेश्वर ज्ञवाली यसरी कराएका हुन् ।

राजेश्वर रघुवीरका विश्वासपात्र । उनलाई विस्थापित गरेर गएका नेम्बाङले रघुवीरको डिजाइनमा असहयोग गरेको आरोप लगाएका थिए । बसन्तले प्रशासन महाशाखा प्रमुखसमेत रहेका राजेश्वरसंग असहयोग गर्नुपर्ने कारण सोधेपछि हो, मन्त्रीसंग मुखमुखै लागेको । 

रघुवीर सिंचाई मन्त्री हुँदा निजी सचिव रहेका राजेश्वर भौतिक मन्त्री भएपछि पनि महासेठकै पछि लागेर मन्त्रालय चलाए । त्यसबेला उनी मन्त्रीको निजी सचिवभन्दा पनि कमिसन एजेन्टको रुपमा बढी परिचित थिए । भौतिकमा पनि महासेठले त्यही भूमिकामा राखे । तर, रघुवीर बहिर्गमनसंगै तिल्मिलाएका राजेश्वरले नयाँ मन्त्रीलाई शुरुदेखि नै असहयोग गर्न थाले । 

नेपाल ट्रष्टको लिज प्रकरणमा यति समूहको स्वार्थमा काम गरेर विवादित बनेका ट्रष्टका सदस्य सचिव राजेश्वरले आफूलाई प्रधानमन्त्रीको खास मान्छे भन्दै मन्त्रीलाई मात्र होइन, सचिव र अन्य कर्मचारीलाई पनि भाउ दिन छाडेका छन् । सिंचाई मन्त्रालयदेखि नै अकुत सम्पति आर्जन गरेको विषयमा राजेश्वरको सम्पति छानविन गर्नुपर्ने माग उठ्ने गरे पनि अख्तियार र सम्पति शुद्धिकरण अनुसन्धान विभागले छुनसमेत सकेको छैन । 

नवलपरासी घर भएका राजेश्वरले प्रधानमन्त्रीको कार्यालयमा हुँदा स्मार्ट लाइसेन्स छपाईको काम गर्ने कम्पनी मद्रास सेक्युरिटी प्रिन्टर्स (एमएसपी) को लोकल एजेन्ट सुबोध त्रिपाठीसंग साँठगाँठ भएका कारण राज्यलाई हानी नोक्सानी पुर्याउने मतियारका रुपमा काम गरेको कर्मचारीहरु बताउँछन् ।

उनी दुई महिनाअघि स्मार्ट लाइसेन्स छपाईमा मास प्रिन्टर खरिदको ठेक्का पाएको कम्पनीको खर्चमा इटाली र स्वीटजरल्याण्ड घुमेर आएका थिए । मास प्रिन्टरले काम गर्न नसक्दा प्राविधिकहरुलाई तालिम दिन इटाली लाने ठेकेदार कम्पनीको योजना थियो । तर राजेश्वरले प्राविधिकको नाम काटेर विदेश जानेमा आफ्नो र रघुवीरका निजी सचिव सोमराज बरालको नाम हाले । 

प्राविधिक जानुपर्ने ठाउँमा कामसंग कुनै सम्बन्ध नभएका मन्त्रीका पीए सोमराजसहित निर्माण तथा यातायात महाशाखा प्रमुख प्रमिला शाक्य, यातायात तथा व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाल, विभागका निर्देशक बन्धुप्रसाद बाँस्तोलालगायतले मस्ती मारेर आएपछि खास प्राविधिक निरास छन् । त्यही कारण उनीहरु विभागसमेत छोड्ने मनस्थितिमा पुगेका छन् । 

वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिका २०७३ को दफा १३ मा ठेकेदारको खर्चमा सरकारी कर्मचारी विदेश जान नहुने उल्लेख छ । त्यही निर्देशिकामा आवश्यक तालिम दिनुपर्यो भने पनि सरकारले खर्च उपलब्ध गराउने भनिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सुशासन मामिला हेर्ने सचिव महेन्द्र गुरागाईंसमेत राजेश्वरसंग केही नभनी बसेका छन् ।

गुरागाईंले एक महिनाअघि ठकेदारको खर्चमा विदेश गएको बारेमा भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयसंग जवाफ मागेका थिए । तर, मन्त्रालयले राजेश्वरको धम्कीका कारण अहिलेसम्म जवाफ पठाएको छैन । 

त्यसरी ठेकेदारको खर्चमा विदेश घुम्न गएको विषयमा राष्ट्रिय सतर्कता केन्द्रले पनि चासो देखाएको छ । नेपाल ट्रष्टमा बसेर प्रधानमन्त्री ओलीले भने गरेको काम गर्ने गरेकाले प्रधानमन्त्री कार्यालय मातहतकै अड्डाले गरेको कारवाहीको सिफारिस पनि प्रधानमन्त्रीले कार्यान्वयन गर्छन भन्ने अवस्था नरहेको बताइन्छ । अहिले मन्त्रीसंग ठाकठुक परेपछि राजेश्वर काठमाडौं महानगरपालिकामा जाने योजनामा छन् । सचिव यादव कोइरालालाई भनेर महानगर जाने दाउमा उनी लागेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारीले सुनाए । जनआस्था साप्ताहिक लेख्छ । 
 

बसन्त नेम्बाङ राजेश्वर

संम्बधित खबर

विशेष