विदेश

चीनमा फैलियो रहस्यमयी भाइरस, धेरै मानिस संक्रमित

चीनमा फैलियो रहस्यमयी भाइरस, धेरै मानिस संक्रमित

बेईजिङ । चीनमा रहस्यमयी भाइरसका कारण धेरै मानिस संक्रमित भएका छन। पहिचान हुन नसकेको संक्रमणका कारण धेरै मानिस प्रभावित भएको चीन सरकारको भनाइ छ।  

चीन सरकारले अहिलेसम्म प्रयोगशालामा भएका परीक्षणहरुबाट ४५ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । तर बेलायती वैज्ञानिकहरुले भने पहिचान नभएको भाइरसका कारण संक्रमित हुनेको संख्या झण्डै १७ सय रहेको अनुमान गरेका छन् । गएको डिसेम्बरमा चीनको वुहान शहरमा पहिलोपटक देखिको सो संक्रमणका कारण अहिलेसम्म दुईजनाको मृत्यु भईसकेको छ । सिंगापुर र हङकङले वुहान हुँदै आउने हवाई यात्रुको स्क्रिनिङ गर्ने गरेको छ ।

यस्तै अमेरिकाले शुक्रबारदेखि यस्तै प्रक्रिया सुरु गरेको छ । सन फ्रान्सेस्को, लस एन्जलस र न्यूयोर्कका प्रमुख विमानस्थलमा वुहान हुँदै आएका यात्रुको स्क्रिनिङ्ग सुरु भएको हो । चीनको वुहानमा संक्रमण बढी फैलिएको भए पनि थाइल्याण्डमा दुई तथा जापानमा एकजनामा संक्रमण पुष्टि भएको छ । चिनियाँ अधिकारीले सो भाइरस मानिसबाट मानिसका सरेको नपाइएको दाबी गरेका छन् ।

संक्रमित पशु तथा समुद्री परिकार तथा वुहानका जंगली जनावरका बजारबाट संक्रमण भएको चिनियाँ दाबी छ।  संक्रमित व्यक्तिबाट लिएको नमूना परीक्षण गरी चीनको स्वास्थ्य संगठनले सो भाइरस कोरोना भाइरस रहेको बताएको छ । यो भाइरसका कारण रुघा लाग्ने, स्वासप्रस्वासमा समस्या हुने गर्छ ।

चीन रहस्यमयी संक्रमण

विशेष