उपसभामुख तुम्बाहाम्फेद्वारा राजीनामा दिने तयारी
काठमाडाैँ – उपसभामुख शिवमाया तुम्बाहाम्फे प्रधानमन्त्री निवास बालुवाटार पुगेकी छिन् । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सभामुख बनाउने पात्रबारे सहमति जुटेपछि आइतबार उपसभामुख शिवमाया तुम्बाहाम्फे प्रधानमन्त्री निवास बालुवाटार पुगेकी हुन् ।
दुई अध्यक्षबीच आइतबार बिहान भएको छलफलमा सभामुख पदबारे समहति जुटेको थियो । यसबारे सचिवालय बैठकले टुंगो लगाउने तयारी छ । सभामुखबारे सहमति जुटेपछि प्रधानमन्त्रीसमेत रहेका ओलीले तुम्बाहाम्फेलाई बालुवाटार बोलाएका हुन् । ओलीले बोलाएपछि सिंहदरबारमा रहेकी तुम्बाहाम्फे केहीबेर अघि बालुवाटार गएकी हुन् । त्यहाँ पुगेर तुम्बहाम्फेले उपसभामुख पदबाट राजीनामा दिनेबारे ओलीसँग छलफल गर्ने बालुवाटार स्रोतले जनाएको छ ।
‘उहाँले राजीनामा दिएपछि भोली(सोमबार)बाट चल्ने संसदको बैठक सञ्चालनबारे थप कुराकानी गर्ने बुझिएको छ’ बालुवाटार स्रातेले भन्यो ।यसअघि नेकपाले सभामुखमा उम्मेदवारी दिने घोषणा गरे पनि उम्मेदवारबारे टुंगो नलाग्दा उपसभामुख शिवमाया तुम्वाहाङफेले राजीनामा नदिने अडान लिँदै आएकी थिइन् ।
संसद सचिवालय श्रोतका अनुसार उपसभामुख तुम्बाहाम्फेले सत्तारुढ दल नेकपाले सभामुखको उम्मेदवार चयन गर्ना साथ राजिनामा दिने हेतुले तीज पेज लामो राजिनामा पत्र समेत तयार गरेकी छन् ।
संसद सचिवालयले गत ११ गतेको प्रतिनिधि सभाको बैठक शुरु भएपछि सभामुख चयनको प्रकृया शुरु गर्ने तयारी सँगै राजीनामा दिने सोच बनाएकी तुम्बाहाम्फेले नेकपा भित्र सभामुख चयनको विषय पेचिलो बन्दै जादा सूचना टाँसेर बैठक स्थगित गर्दै १६ गतेका लागि तोकेकी थिईन ।
यस्तै गरी १६ गतेसम्म पनि सहमति नभएपछि सूचना टाँस गरेर २७ गतेका लागि बोलाइएको थियो । २७ गतेसम्म पनि नेकपा भित्र सहमति नभएपछि यही माघ ६ गतेका लागि संसद बैठक डाकिएको थियो । अब सभामुखको विषयमा टुङ्गो लागेसँगैउपसभामुख तुम्बाहाम्फेले राजीनामा दिन लागेको श्रोतको दाबी छ ।
तत्कालिन सभामुख कृष्णबहादुर महराले संसद सचिवालयमा कार्यरत एक महिलामाथि दुर्व्यवहार गरेको आरोपमा मुद्दा दायर भएपछि सभामुख पद रिक्त हुन पुगेको थियो । सभामुखको निर्वाचन हुने बैठकको अध्यक्षता ज्येष्ठ सदस्यले गर्ने र सभामुख चयनपछि उपसभामुखको निर्वाचनको कार्यसूची आउने जनाइएको छ ।