विदेश

ह्यारी र मेगनको शाही उपाधि र उत्तरदायित्व समाप्त

ह्यारी र मेगनको शाही उपाधि र उत्तरदायित्व समाप्त

बीबीसीः बकिङ्घम दरबारले राजकुमार ह्यारी र मेगनले अब शाही उपाधि प्रयोग नगर्ने र उनीहरूले नागरिकको करबाट आउने रकम समेत नपाउने घोषणा गरेको छ । अब ह्यारी र मेगनले औपचारिक रूपमा महारानीको प्रतिनिधित्व पनि गर्ने छैनन् ।

ब्रिटिश राजपरिवारका शाही उपाधिप्राप्त सदस्यहरूलाई ‘रोयल हाइनेस’ भन्ने चलन छ । दरबारद्वारा जारी वक्तव्यका अनुसार ‘ड्यूक र डचिस अफ ससिक्स अब राजपरिवारका औपचारिक सदस्य नरहने र उनीहरूले शाही उपाधि प्रयोग गर्ने छैनन्।’ 

हालै ह्यारी र मेगनले आफूले राजपरिवारको ‘वरिष्ठ सदस्य’ को भूमिका परित्याग गर्ने र आफ्नो समय यूके तथा उत्तर अमेरिकामा बिताउने घोषणा गरेका थिए । राजपरिवारको एउटा छलफलपछि ब्रिटेनकी महारानी एलिजाबेथले मञ्जुरी दिएकी थिइन्। नयाँ व्यवस्था यसै वर्षको वसन्त ऋतुदेखि लागू हुने दरबारले जनाएको छ । ह्यारी र मेगनले ब्रिटेनस्थित आफ्नो घर ‘फ्रोगमोर कटेज’ को मर्मतसम्भारका लागि खर्च भएको करदाताको २४ लाख पाउन्ड रकम फिर्ता गर्न चाहेको बताएका छन् ।

महारानीले भनेकी छिन्, ‘ह्यारी, मेगन र आर्ची (उनीहरूका छोरा) सधैँ हाम्रो परिवारका प्रिय सदस्य रहनेछन् ।’ ‘मलाई लाग्छ पछिल्ला दुई वर्षमा कडा निगरानीका कारण उनीहरूले चुनौतीको सामना गर्नुपर्‍यो । म उनीहरूको थप स्वतन्त्र जीवन जिउने चाहनाको समर्थन गर्छु।’ यद्यपि बकिङ्घम दरबारले यी दम्पतीको आउने दिनमा कस्तो सुरक्षा व्यवस्था हुनेछ भन्नेबारे टिप्पणी नगर्ने जनाएको छ । दरबारका अनुसार उनीहरूको शाही उपाधि हटेपछि उनीहरूले पाउने सैन्य पद पनि हट्ने जनाएको छ । वक्तव्यमा भनिएको छ, ‘ससिक्सका ड्यूक तथा डचेसले महारानीको औपचारिक प्रतिनिधित्व नगर्ने बताए पनि उनीहरू सधैँ मर्यादाको ख्याल गरेर नै अघि बढ्नेछन् ।’ 

मेगन ह्यारी शाही उपाधि उत्तरदायित्व

विशेष