मन्त्री छाडी चार राज्यमन्त्री थप्दै प्रदेश सरकार
विराटनगर – प्रदेश १ मा खाली रहेकाे मन्त्रालयमा मन्त्री छाडी राज्यमन्त्री थप्ने तयारी प्रदेश सरकारले गरिरहेकाे छ। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले राज्यमन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्।
उनले भौतिक योजना तथा पुर्वाधार विकास र भूमि, कृषि तथा सहकारी मन्त्रालयमा मन्त्री पद खाली राखेर चार राज्यमन्त्री थप गर्ने तयारी गरेका हुन् । मुख्यमन्त्री राईले ओखलढुंगाका अम्बिर गुरुङ, इलामका राम राना, झापाकी जसमाया गजमेर र मोरङका विजय विश्वासलाई राज्यमन्त्री नियुक्त गर्ने छन् । चारैजनालाई आइतबार अपराह्न सपथ ग्रहण गराउने तयारी भइरहेको स्रोतले बताएको छ ।
दुई मन्त्रालय खाली मुख्यमन्त्री शेरधन राईले जसमाया गजमेरलाई सामाजिक विकास मन्त्रालय, अम्बिर गुरुङलाई भौतिक पूर्वाधार, राम रानालाइ भूमि कृषि तथा सहकारी मन्त्रालय र विजय विश्वासलाई पर्यटन मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारी दिने तयारी गरेका छन् । एक नम्बर प्रदेशमा सात वटा मन्त्रालय छन् ।
शनिबार मात्र पार्टीको प्रदेश कमिटीले खाली रहेका मन्त्रालयमा मन्त्री नियुक्त गर्न निर्देशन दिएको थियो । तर मुख्यमन्त्री राईले भने मन्त्री खाली राखेर राज्यमन्त्री नियुक्त गर्न लागेका हुन् । राज्यमन्त्रीको आइतबार तीन बजे सपथग्रहण राखिएको छ ।