News

२५ हजारमै टर्यो, सहिद परिवारलाई दिने भनिएको ५० लाख क्षतिपूर्ति

२५ हजारमै टर्यो, सहिद परिवारलाई दिने भनिएको ५० लाख क्षतिपूर्ति

वीरगन्ज। मधेस आन्दोलनका क्रममा मधेसी दलका नेताहरुले मधेसमा मधेसी दलको सरकार बनेपछि सहिद परिवारलाई ५० लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका थिए ।

प्रदेश २ मा मधेसी दलको सरकार बनेको पनि दुई वर्ष पूरा हुँदैछ । तर आन्दोलनका बेला मधेसी दलका शीर्ष नेताले नै घोषणा गरेको ५० लाख रुपैयाँ सहिदका परिवारले पाउन सकेका छैनन् । आइतबार वीरगन्जमा आयोजित बलिदानी दिवस र सहिद सम्मान कार्यक्रममा प्रदेश सरकारले मधेसी सहिदहरुका परिवारलाई २५ हजार रुपैयाँ मात्रै दिएर टारेका छन् ।

मधेस आन्दोलनका पहिलो सहिद भनी चिनिएका रमेश महतोका दाजु बालकृष्ण सिंह भन्छन्, ‘आन्दोलनका बेला नेताले मधेसमा मधेसी दलको सरकार बने सहिदका परिवारलाई ५० लाख दिन्छौँ भनेर उक्साएका थिए, तर अहिले प्रदेश सरकारले ५० लाखको ठाँउमा २५ हजार मात्रै दिएर टारेको छ ।’

यसअघिको १० लाख पनि प्रदेश सरकारले नभइ संघीय सरकारले सहिद परिवारलाई दिएको थियो । प्रदेश सरकारले सहिदका परिवारका एक जनालाई रोजगारी दिने  घोषणा पनि गरेका थिए । तर यस्तो सुविधा पनि सरकारबाट नपाएको सहिद परिवारले गुनासो गरेका छन् । य समाचार अन्नपुर्ण पोस्ट दैनिकमा क्रान्ति शाहले लेखेका छन। 

 

क्षतिपूर्ति सहिद परिवार

विशेष