News

अन्नपूर्णमा बेपत्ता भएका ७ जना अझै भेटिएनन्

अन्नपूर्णमा बेपत्ता भएका ७ जना अझै भेटिएनन्

कास्कीः अन्नपूर्ण पदयात्राको क्रममा हिमपहिरोमा बेपत्ता भएका चार कोरियन र तीन नेपाली नागरिकलाई हालसम्म फेला पर्न सकिएको छैन । पदयात्रा क्षेत्रको हिमालयनबाट माथि देउरालीको बीच करिब तीन हजार २ सय मिटर उचाइमा अवस्थित हिङ्कुकेभ वरिपरि गत माघ ३ गते बिहान १० बजेको आएकोे हिमपहिरोमा परी उनीहरु सम्पर्कविहीन हुन पुगेका थिए ।

घटनामा केही विदेशी पर्यटक तथा नेपाली उम्किन सफल भएका थिए । नेपाली पथप्रदर्शक सरोज परियार, सहयोगी मीनबहादुर लामा (तामाङ) र छिरिङ भोटे तथा कोरियन नागरिक लि मिन सु, जोङ्गपिल बोङ्ग, किम सोक जा र चोइ जो वोनको अवस्था हालसम्म अज्ञात रहेको जनाइएको छ ।

टेकिङ्ग एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल सङ्घ पोखराले आइतबार पत्रकार सम्मेलन आयोजना गरी हराइरहेका पर्यटकको खोजी कार्यमा प्रतिकूल मौसमका कारणले कठिनाइ भएको जनाएको छ ।

घटनास्थलमा बाक्लो हिउँ जमेको तथा अहिले पनि हिउँ पर्ने क्रम नरोकिएकाले बेपत्ता भएकाको अवस्था हालसम्म पनि यकिन हुन नसकेको टानका अध्यक्ष हरि भुजेलले जानकारी दिए । घटनास्थल भौगोलिकरुपमा अत्यन्त विकट रहेको तथा सञ्चार, सडकलगायतका कुनै पनि पूर्वाधार नभएकाले समेत खोजी कार्यमा अप्ठ्यारो भएको बताइन्छ ।

शनिबार हिमपहिरोमा परी घाइते भएका एक जना चिनियाँ नागरिक ज्वाङ यिङ र उनका पदयात्रा सहयोगी जगदिश खत्रीलाई उद्धार गरी पोखरास्थित फेवासिटी अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए । 
 

अन्नपूर्ण पदयात्रा हिमपहिरो

विशेष