News

सीमा सर्वेक्षणको काम सुरु हुँदै

सीमा सर्वेक्षणको काम सुरु हुँदै

टकनपुरः नेपाल भारतको संयुक्त सीमा सर्वेक्षण टोलीले कैलाली–कञ्चनपुर जिल्लाका सीमा स्तम्भहरु नक्सा अनुसार मिलाउने भएको छ । दुईवटै देशको सहमतिमा बनेको सीमा क्षेत्रको नक्सा अनुसार नयाँ स्तम्भ राख्ने, मर्मत सम्भार गर्ने काम अव शुरु हुने भएको हो । सीमा सर्वेक्षण टोलीले विवादित भूभाग समेत पत्ता लगाउने छ नेपाली पक्षका सर्वेक्षण टोलीका प्रमुख जनकबहादुर भण्डारीले बताए ।

कैलाली–कञ्चनपुरमा ११० मुख्य सहित ६५९ सीमा स्तम्भ रहेका छन । ती स्तम्भको जोर नम्बरमा भारतिय पक्षले र विजोर नम्बरमा नेपाली पक्षले काम गर्ने भएको छ । कैलाली कञ्चनपुरमा ७०० देखि ८११ नम्बरसम्मका सीमा स्तम्भ रहेका छन । नेपाली पक्षका सर्वेक्षण टोलीका प्रमुख भण्डारीले भने, ‘कैलालीका ५३ मुख्य सहित २२९ सीमा स्तम्भमध्ये धेरैको काम सकिएको सीमा सर्वेक्षण टोलीले यसअघि नै सकेको छ । फेरि पनि अझै ती स्तम्भको अवस्था हेरिने छ ।’ उनका अनुसार दुईवटै देशका सीमा सर्वेक्षण टोलीको सहमतिमा केही दिनमै सीमाको काम थालिने छ ।

सीमा सर्वेक्षण टोलीलाई नेपालको सीमा क्षेत्रका जिल्ला कैलाली–कञ्चनपुर र भारतको चम्फावत, लखिमपुर खिरी , पिलिभित र उद्यमसिंहनगर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको शुक्रबार टनकपुर जल विद्युत गृहमा बसेको बैठकले सीमामा काम गर्ने अनुमति दिएको हो ।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले सर्वेक्षण टोलीले यसअघि गरेका कामलाई मान्यता दिने र अव वाँकी रहेका काम गर्ने गरेर अधिकार प्रदान गरिएको बताए । उनले भने, ‘सीमा स्तम्भ सम्वन्धी काम गर्दा कुनै समस्या आए फेरि पनि दुई देशका छिमेकी जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसेर समस्या समाधान गरिने छ ।’ 

भारतको चम्फावत जिल्लाका प्रमुख एमएम पाण्डेले वर्षातयाम शुरु हुनु अघि नै सर्वेक्षण टोलीले सीमाको काम सक्ने विश्वास व्यक्त गरे । उनले भने, ‘दुईवटै देशका सर्वेक्षण टोलीलाई काम गर्न कुनै कठिनाई नहोस भन्नका लागि सजगता अपनाइने छ ।’ वर्षात अघि केही गरेर काम सकिएन भने अर्को वर्ष समेत सीमाको काम जारी राख्न मिल्ने कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी शुशिल बैद्यले बताए । बैठकमा नेपालका कैलाली–कञ्चनपुर, भारतका चम्फावत, लखिमपुर खिरी, उदमसिंहनगर, पिलभित जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा अधिकारी, वन र नापी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता थियो । बैठकमा सीमा सर्वेक्षण टोलीका प्रतिनिधिहरुले आफ्ना आफ्ना कामका अनुभव र आगामी योजना वारे धारणा राखेका थिए ।

नेपाल भारतवीचका सीमा सर्वेक्षण गर्न चार वटा टोली परिचालित छन । ती मध्येको चौथो टोलीले कैलाली–कञ्चनपुर, भारतका चम्फावत, लखिमपुर खिरी, उदमसिंहनगर, पिलभितमा काम गरिरहेको छ । सो टोलीले नेपालको सुदूरपश्चिमसंग जोडिने भारतको उत्तर प्रदेश र उत्तराखण्डका जिल्लाहरुका सीमामा समेत काम गर्ने अधिकार पाएको छ । तर कालापानी क्षेत्रका बारेमा भने यो टोलीलाई अधिकार दिइएको छैन । कालापानी समस्या उच्च तहबाट हेरिन्छ नेपालका एक अधिकारीले बताए । –गोरखापत्र दैनिकबाट 

सीमा स्तम्भ कैलाली–कञ्चनपुर सीमा सर्वेक्षण टोली सीमा सर्वेक्षण

विशेष