सदनमा उपसभामुख तुम्बाहाम्फेको मनछुने भाषण, के भनिन् ?
काठमाडौँ । उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालको कोपभाजनमा परेर राजीनामा दिएकी छिन् ।
सदनमा राजीनामा दिँदै गर्दा उनले मनछुने भाषण गरिन् । आखिर के भनिन् शिवमायाले राजीनामामा ? हामीले उनको राजीनामामा व्यक्त शब्द जस्ताको तस्तै प्रस्तुत गरेका छौँ :
माननीय सदस्यहरु
एउटा अप्रत्याशित र अस्वभाविक परिस्थितिका कारण सभामुख पद विगत केही समयदेखि रिक्त रहँदै आएको यहाँहरुलाई अवगतै छ । सार्वभौम संसदको महत्वपूर्ण अंग प्रतिनिधि सभा सभामुख विहीन हुँदा यसले सिर्जना गरेको समस्या र उत्पन्न भएको जटिलताबारे हामी सबै जानकार छौँ ।
यस्तो स्थिति अब कायम रहनु हुँदैन । यसले छिटै निकास पाउनुपर्छ भन्ने माननीय सदस्यहरुको भावनालाई प्रतिनिधित्व गर्दै मैँले पटक पटक सम्बन्धित पक्षहरुको ध्यानाकर्षण गराउँदै आएको यथार्थसँग माननीय सदस्यहरु परिचित नै हुनुहुन्छ ।
अन्यौलपूर्ण अवस्थामा उपसभामुख पद रिक्त गरेर यस गरिमामय सदनलाई नतृत्वविहीन राख्नु उचित नहुने मान्यताका आधारमा सभामुख चयनको ठोस आधार सिर्जना भएपछि आफूले मार्गप्रशस्त गर्ने भनेर मैँले सार्वजनिक रुपमा राखेको मान्यता सम्मानित सदनसमक्ष अभिलेखित गराउन चाहन्छु ।
समावेशी लोकतन्त्र हाम्रो संवैधानिक व्यवस्थाको महत्वपूर्ण विशेषताका रुपमा रहेको छ । संविधानको यो मर्म अक्षर वा वचनबाट होइन हाम्रा अभ्यास र आचारणबाट मात्र कार्यान्वयन हुन सक्छ भन्ने मलाई लाग्छ ।
राज्यको उच्च ओहदाहरुमा समाजका सबै प्रतिबिम्ब झल्किन सके मात्र वास्तविक अर्थमा लोकतन्त्र सुदृढ हुन सक्छ भन्ने यथार्थतामा संविधान निर्माणमा अगुवाई गर्नुहुने राजनीतिक दल र नेतृत्व वर्ग सजग हुनुहुन्छ भन्न मैँले आशा लिएको छु ।
यसै विश्वासमाथि आधारित रहेर मैँले आफ्ना धारणाहरु सम्बन्धित निकायमा प्रस्तुत गरेको हुँ । मेरा यी धारणाहरु कुनै अस्वभाविक महत्वकांक्षा या अनुचित आग्रहबाट प्रेरित थिएनन् भन्नेमा म दृढ छु । यससम्बन्धी विभिन्न प्रतिक्रियाहरु मैँले नजिकबाट नियालेको छु ।
समयले यसबारेमा वस्तुनिष्ठ मुल्यांकन गर्नेछ भन्ने मेरो विश्वास छ । लोकतन्त्र र खुला समाजमा हामीले गर्ने हरेक निर्णयहरु जनताको सुक्ष्म निगरानीमा रहेका हुन्छन् तिनको औचित्य परीक्षा पनि समयको कसीमा घोटिएर भएझैँ हुन्छ । निर्णय र सार्वजनिक जवाफदेहिताको बीचमा उचित सामञ्जस्यता हुनुपर्ने कुरा सम्बन्धित पक्षले ध्यान पुर्याउनुपर्ने हुन्छ भन्ने मलाई लाग्छ ।
दलबाट सिफारिस वा निर्वाचित भएर प्राप्त हुने जिम्मेवारी भएता पनि संवैधानिक ओहदामा बसुञ्जेल सम्बन्धित व्यक्ति दलको सम्बन्धबाट अलग रहेको हुन्छ । उक्त ओहदामा रहँदा ऊ दलको निर्देशनमा होइन संविधान र कानूनी प्रबन्ध अनुसार निर्देशित हुन्छ ।
मैँले पनि यसै अनुसार नै इमान्दारिसाथ कर्तव्य पूरा गरेकी हुँ । तर कसैले पनि आफ्नो जराहरु बिर्सनु हुन्न । धरातल भुल्नु हुन्न र स्वतन्त्रतालाई भुल्नु हुन्न भन्नेमा म सचेत छु । विभिन्न पक्षका बीचमा यस अन्यौललाई निकास दिन चलिरहेको छलफललाई मैँले सुक्ष्म अध्ययन गरिरहेको छु ।
प्रतिनिधि सभामा बहुमत प्राप्त दलले आफ्नो तर्फबाट नेतृत्वको दाबा गरेको अवस्था, हाम्रो प्रचलित र कानूनी अवस्थामा आधारमा त्यसलाई कार्यान्वयन गर्न मैँले सहजीकरण गर्नु आवश्यक भएको छ । यसैले यसै अनुसार मैँले मार्गप्रशस्त गर्ने निष्कर्षमा पुगेको कुरा सम्मानित सदनसमक्ष अवगत गराउन चाहन्छु ।
उपसभामुखको रुपमा विगत झण्डै दुई वर्षसम्म माननीय सदस्यहरुसँग बिताउन पाएको अवधि मेरो जीवनमा अविस्मरणीय र सुखद अवधिका रुपमा स्मृतिमा रहनेछ ।
एउटा महिला त्यसमाथि पनि एकल अवस्थामा रहेको, जनजाति पृष्ठभूमिबाट आएको म जस्तो व्यक्तिले जनताको सार्वभौम अधिकार अभ्यास गर्ने यस सर्बोच्च र गरिमामय अंगको नेतृत्व गर्न पाएको अवसरलाई अत्यन्तै महत्वपूर्ण अवसर ठानेकी छु । यसको श्रेय हाम्रो लोकतान्त्रिक प्रणाली र राजनीतिक दलहरुलाई जान्छ ।
समावेशी लोकतन्त्रका माध्यमबाट न्यायपूर्ण र समृद्ध समाज निर्माण गर्ने अभियानमा म भिन्न रुपमा अविचलित र विश्रान्त रुपमा क्रियाशिल भैरहने छु । मलाई कर्तव्य निर्वाहको सिलसिलामा प्राप्त सहयोगका लागि माननीय सदस्यहरु र संसद सचिवालयका कर्मचारीलाई धन्यवाद दिन चाहन्छु । धन्यवाद ।