उखु किसानलाई दिने पैसाकाे समय सीमा सकियाे, अब के गर्छ सरकार?
काठमाडौँ - उखु किसानलाई उद्योगीहरूले दिने पैसाकाे समय सीमा आज सकिएकाे छ। झण्डै एक महिनासम्म काठमाडौं केन्द्रीत आन्दोलन गरेका उखु किसानले सरकारद्वारा गरिएको प्रतिवद्धताअनुसार उखुको बक्यौता रकम अहिले सम्म पाएका छैनन् ।
सर्लाहीका उखु किसानले काठमाडौं केन्द्रीत आन्दोलन गर्दा सरकारले माघ ७ गतेभित्र सम्पूर्ण बक्यौता रकम भुक्तानी गराउने भनि सम्झौतापत्रमा हस्ताक्षर गरेको थियो । उखु किसानले झण्डै एक अर्ब भन्दा बढी बक्यौता रकम चिनी उद्योगीहरुबाट लिनुपर्ने छ । तर हालसम्म १५ करोड रुपैयाँ मात्र प्राप्त गरेको बताइन्छ ।
उखु किसान र सरकारबीच पुस १८ गते पाँच बुँदे सम्झौता भएको थियो । सम्झौताको पहिलो बुँदामा ‘नेपाल सरकारबाट निर्धारण भएको उखुको मूल्य बमोजिमको उखु किसानहरुको सम्पूर्ण बक्यौता रकम चिनी उद्योगीहरुले २०७६ माघ ७ गतेभित्र भुक्तानी गरिसक्ने व्यवस्था मिलाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आवश्यक समन्वय र सहजीकरण गर्ने भनि उल्लेख छ । सो सहमतिपछि किसानहरु आन्दोलन स्थगित गरेर मधेस फर्किएको भएपनि किसानले भने प्रतिवद्धताअनुसार भुक्तानी पाउन नसकेका हुन् ।
संघर्ष समितिका सचिव हरिश्याम रायले साँझसम्म भुक्तानीका लागी कुरेर बसेका र त्यतिबेलासम्म सम्पूर्ण रकम भुक्तानी नभए भोलिदेखि आन्दोलनमा जाने बताए ।
कृषि तथ पशुपक्षी विकास मन्त्रालयका अनुसार वाग्मती सुगर मिलले ८ करोड ४१ लाख ४१ हजार ५८६, लुम्बनी चिनी उद्योग प्रालीले १० करोड ७४ लाख ८८ हजार ४७२, इन्दिरा सुगर एण्ड एग्रो इन्डस्ट्रिज प्रा.लिले ११ करोड २२ लाख, महाकाली सुगर प्रालिले ६२ हजार १०७, श्रीराम सुगर मिल्सले २६ करोड ७७ लाख ७८ हजार ६२३, रिलाइन्स सुगर एण्ड के.ई.लिले ६१ लाख ४९ हजार ७१४, हिमाल सुगर मिल्स लिले २० लाख ६४ हजार ३८, एभरेष्ट सुगर एण्ड के. ई. प्रालिले ७ करोड ३९ लाख आठ हजार ६२७, बाबा बैजनाथ चिनी उद्योगले २५ लाख ५६ हजार ५१४, अन्नपूर्ण सुगर एण्ड जनरल इन्डस्ट्रीज प्रा.ली.ले ३० करोड, महालक्ष्मी सगर इण्डस्ट्रीज प्रालिले २१ करोड ४० लाख ५८ हजार २२६ रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ । यो रकम भुक्तानी गराइ दिनका लागि कृषि मन्त्रालयले पुसको दोस्रो हप्ता गृह मन्त्रालयलाई पत्र पठाएको थियो ।