News

भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

विराटनगर – प्रधानमन्त्री केपी ओलीले समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।
विराटनगरस्थित एकीकृत भन्सारचौकीको मंगलबार भारतीय समकक्षी मोदीसँगै भिडियो कन्फरेन्समार्फत उद्घाटन गर्दै मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका हुन् ।

उनीहरुले संयुक्त रूपमा स्वीच अन गरेर एकीकृत भन्सार जाँचचौकीको उद्घाटन गरेका थिए । मोदीले नयाँदिल्लीमा बिहान ११ः१५ मा रिमोट कन्ट्रोलबाट चौकीको उद्घाटन गरेका हुन् । सो अवसरमा प्रधानमन्त्री ओलीले एकीकृत भन्सार जाँचचौकीले नेपाल र भारतबीचको व्यापार विस्तार गर्न मद्दत पुग्ने बताउँदै यसबाट दुवै देशको आर्थिक विकासमा सहयोग पुग्ने दाबी गरे ।

प्रधानमन्त्री ओलीले नेपालले भारतसँग विकासमा साझेदारी गर्न चाहेकामा पनि जोड दिए । भिडियो कन्फ्रेन्सबाटै भारतीय प्रधानमन्त्री मोदीले नेपालको शान्ति, अखण्डता र समृद्धिको कामना गरेका थिए ।नवनिर्मित चौकीले व्यापार, संस्कृति र शिक्षा क्षेत्रमा सुगमता ल्याउने विश्वास गर्दै प्रधानमन्त्री मोदीले गोरखा भूकम्पबाट भत्किएका निजी घरको पुनःनिर्माणमा भारत सरकारले निरन्तरता दिने विश्वास दिलाए । प्रधानमन्त्री मोदीले नेपाल भ्रमणको निम्तो पनि स्वीकार गरे ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले नवनिर्मित चौकीले नेपाल भारतबीचको व्यापारमा अत्यन्त सुविधा पुग्ने तथा नेपालमा उत्पादन लागत कम हुने र रोजगारी एवं व्यापारमा सुगमता आउने बताए ।

एकीकृत भन्सार जाँचचौकी मंगलबारदेखि सञ्चालनमा आएपछि विराटनगर भन्सार कार्यालय छोटी भन्सार कार्यालय हुनेछ । विराटनगर भन्सार कार्यालयदेखि पूर्व भारत सिमानासँग जोडिएको बुधनगरमा सो चौकी १२९ बिघा क्षेत्रमा बनाइएको छ ।

विशेष