News

कुर्था–जयनगरको रेल उपकरण २० दिनभित्र नेपाल आइपुग्ने

कुर्था–जयनगरको रेल उपकरण २० दिनभित्र नेपाल आइपुग्ने

धनुषाः धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालनका लागि ल्याउन लागिएको रेल सेट झण्डै १० दिनपछि त्यहाँबाट हिँड्ने भएको छ । भारतबाट हिँडेको झण्डै १० दिनमा नेपाल आइपुग्ने रेल विभागले जनाएको छ । यहाँ आइपुग्नासाथ सञ्चालनको तयारी अघि बढ्ने विभागका महानिर्देशक बलराम मिश्रले बताए । फागुनसम्ममा रेल सञ्चालन गर्ने गरी तयारी अघि बढिरहेको उनको भनाइ छ।

केही समय पहिले नै रेलमार्ग सम्पन्न भएको थियो।  सरकारले भारतीय सरकारी कम्पनी कोनकानमार्फत रेल सेट खरिद प्रक्रिया अघि बढाएको छ। रेल सेट आइपुगेको केही समयपछि सञ्चालन गर्न सकिने उनले बताए । दुई वटा सेट खरिद गर्न लागिएकामा पहिलो सेट आइपुगेको केही समयपछि अर्को आइपुग्ने उनको भनाइ छ । उनले भने, ‘सेट आएपछि नै सञ्चालनको तयारी हुनेछ।’

सरकारले अहिले दुई वटा सेट खरिद गर्दा त्यसमा जम्मा १० डिब्बा रहन्छन् । यी दुई सेटको क्षमता एक हजार दुई सयसम्म यात्रु बोक्ने रहेको उनले बताए । भारतको जयनगरबाट धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको यो रेलमार्गका अरु भौतिक पूर्वाधार निर्माण भइसकेको छ । यस क्षेत्रमा रेल लाइन तथा रेल्वे स्टेशन तयार भइसकेको उनले बताए । यसमा कुर्थाबाट विजलपुरा खण्ड १७ किलोमिटरसमेत गरेर ५२ किलोमिटर आगामी फागुनसम्म सम्पन्न हुने र त्यसपछि रेल त्यहाँसम्म विस्तार हुनेछ।   

धनुषा रेल सेट रेल उपकरण

विशेष