News

कक्षा ११ र १२ मा गणित बिषयलाई पाठ्यक्रमबाटै हटाउने चलखेल

कक्षा ११ र १२ मा गणित बिषयलाई पाठ्यक्रमबाटै हटाउने चलखेल

काठमाडौं । विज्ञान र प्रविधिको मेरुदण्ड मानिएको गणित विषयलाई पाठ्यक्रमको प्रारूपबाटै हटाउने गृहकार्य भइरहेको छ । कक्षा ११ र १२ मा विद्यार्थीले गणित विषय रोज्न चाहे पनि पढ्न नपाउने गरी प्रारूप तयार गरिएको छ ।

नेपाल गणित समाजका अनुसार हाल देशभर ७० हजार बढी विद्यार्थीले विभिन्न संकायबाट गणित अध्ययन गर्दै आएका छन् । समाजका अनुसार प्रारूपमा विज्ञान संकायका विद्यार्थीले ११ कक्षामा अंग्रेजी अनिवार्य र चार ऐच्छिक गरी पाँच विषय अध्ययन गर्दै आएका छन् ।

यस्तै, १२ कक्षामा अंग्रेजी, अनिवार्य नेपाली र तीन ऐच्छिक गरी पाँच विषय पढ्दै आएका छन् । पाठ्यक्रम विकास केन्द्रले तयार पारेको कक्षा ११ र १२ को नयाँ पाठ्यक्रममा गणित विषय समावेश नगरिएकामा विज्ञहरूले विरोध गर्दै आएका छन् ।

हाल केन्द्रले बनाएको प्रारूप लागू भए ११ कक्षामा अंग्रेजी, नेपाली, सामाजिक शिक्षा र तीन ऐच्छिक गरी ६ विषय पठनपाठन हुने गणित शिक्षक समाजले जनाएको छ । यस्तै, १२ कक्षामा अंग्रेजी, नेपाली, जीवनोपयोगी र तीन ऐच्छिक गरी ६ विषय अध्यापन गराइने बताइएको छ । यो समाचार राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन।  

गणित

विशेष