News

उपत्यका सवारीसाधन व्यवस्थापनमा ३ तहको रुट प्रणाली

उपत्यका सवारीसाधन व्यवस्थापनमा ३ तहको रुट प्रणाली

काठमाडौंः यातायात व्यवस्था विभागले उपत्यकाका सडकहरूलाई तीन तहमा प्राथमिकीकरण गरी रुट प्रणाली तयार गरेको छ तर यसको कार्यान्वयनमा ढिलाइ भएको छ । एक वर्षअघि सवारी साधनको चाप व्यवस्थित गरी ट्राफिक व्यवस्थापनका लागि नयाँ रुट प्रणाली लागू गर्न सडकलाई प्राथमिकीकरणका आधारमा विभाजन गरिएको थियो । रुट व्यवस्थापनका लागि अध्ययन प्रतिवेदन तयार गरे पनि विभागले कार्यान्वयन अझै गरेको छैन । विभाग कार्यान्वयनको तयारीमा रहेको जनाइएको छ ।

विभागका महानिर्देशक गोगनबहादुर हमालले भने, ‘अपडेट गर्दै छौँ, जतिसक्दो चाँडो कार्यान्वयनमा लैजाने छौँ, कार्यान्वयनमा जाने तयारीमा छौँ ।’ तर एक वर्ष अघिदेखि नै विभागले कार्यान्वयनको तयारीमा रहेको जनाउँदै आएको छ । विभागका अनुसार प्राथमिक, द्वितीय र तृतीय गरी तीन तहको रुटको अवधारणा बनाइएको छ ।

प्राथमिक रुटमा चक्रपथसँगै आसपासका सडकलाई लिइएको छ । जहाँ ठूला सवारीसाधन र यात्रुवाहक सवारी साधनलाई चल्न दिइने छ । द्वितीय रुटमा मझौला सवारीसाधन सञ्चालन हुनेछन् । हाल नेपाल यातायात लगायतका मझौला सवारी साधनलाई द्वितीय रुटमा सञ्चालन गरिने छ । यो रुट प्राथमिक रुटभन्दा छोटो हुने छ ।

तृतीय तहको रुटमा साना सवारी सञ्चालन हुने छन् । ट्याक्सी लगायतका सवारी यसमा चल्नेछन् । यी छोटा दूरीका रुट हुनेछन् । यो रुट प्रणाली लागू भएपछि अहिले जस्तो सबै सवारीसाधन एउटै रुटमा चल्न पाउने छैनन् । रुट प्रणालीको नयाँ रुट प्रणालीअनुसार एउटै रुटमा सबै गाडी गुड्न पाउने छैनन् । तोकिएको रुटमा तोकिएका सवारी गुड्ने छन् । जसले गर्दा ट्राफिक व्यवस्थापन सहज भई दुर्घटनामा कमी आउने महानिर्देशक हमालको भनाइ छ ।

सार्वजनिक सवारी व्यवस्थित र तोकिएको रुटमा मात्र चल्नेछन् । यातायात व्यवस्था विभागले उपत्यकाका सयौँ रुट व्यवस्थित गर्न छ वर्षअघि नै ६६ वटा रुटमा झारेको थियो । हाल तीनवटा रुट थप गरी ६९ वटा पुर्‍याइएको छ । नयाँ रुटका सम्बन्धमा यातायात व्यवसायीसँग पनि छलफल भइसकेको विभागले जनाएको छ ।

टेन्डरको तयारीमा जीपीएस प्रणाली

यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनलाई व्यवस्थित गर्न जीपीएस (ग्लोबल पोजिसनिङ सिस्टम) प्रणालीमा जोड्ने तयारी टेन्डर प्रक्रियाको चरणमा छ । चालू आर्थिक वर्षमै टेन्डर गरी कार्यान्वयनमा जाने महानिर्देशक हमालको भनाइ छ । उहाँका अनुसार जीपीएस जडान भएपछि ट्राफिक प्रहरीलाई ट्याकिङ गर्न र गति थाहा पाउन सजिलो हुने छ । साथै सार्वजनिक यातायातका विकृति र आपराधिक घटना नियन्त्रण गर्न पनि सहयोग हुने विभागको दाबी छ । विश्व बैङ्कको सहयोगमा काम सुरु गरिएको विभागले जनाएको छ । त्यसका लागि बिजनेस प्लान अन्तिम चरणको पुगेको हमालले जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकबाट लिइएको हो ।

यातायात व्यवस्था विभाग ट्राफिक व्यवस्थापन रुट प्रणाली

विशेष