News

सदरमुकाममै भेटियो प्लास्टिकको चामल!

सदरमुकाममै भेटियो प्लास्टिकको चामल!

कुश्माः पर्वत सदरमुकाम कुश्माबजारमा प्लास्टिकको चामल भेटिएको छ । कुश्माबजारस्थित मेलमिलाप चोकका प्रेम जैसी लामिछानेले किनेर ल्याएको चामल प्लास्टिकको भएको पाइएको हो ।

लामिछानेको घरमा सोमबार बिहान पकाएको भात खाने बेलामा फरक गन्ध र सिता समेत अर्कै देखिएपछि डल्लो पारेर हेर्दा प्लास्टिकको भएको पुष्टि भएको हो । डल्ला पारेर भुइमा फाल्दा क्रिकेट बल जस्तै उफ्रिएपछि लामिछाने परिवारले प्लास्टिकको चामल भन्दै अच्चममा परेका थिए ।

भातको डल्ला तीन÷चार मिटर माथिसम्म उफ्रिएको थियो । प्लास्टिकको चामल गणेश खाद्य उद्योग पुरानो पर्साबजार चितवनले उत्पादन गरेको जिरा मसिनो ब्रान्डको हो ।

लामिछानेले केही दिन पहिले स्थानीय व्यापारी लेखनाथ शर्माको उमानन्द किराना स्टोर्सबाट चामल किनेर ल्याएको र पकाएर हेर्दा भातको डल्ला परेको र प्लास्टिक जस्तो गरी उफ्रिएको बताए । यो पाक्न समेत लामो समय लाग्ने र चिसो भएपछि खान नसकिने बनेको थियो । सोमबार बिहान चामलको बोरा खोलेर उनीहरूले पकाएका हुन् ।

उनका अनुसार अरुबेला खाना बनाउँदा केही समस्या नभए पनि यो चामल भने ढिलो पाक्ने र खानाको स्वाद अर्कै आएकाले डल्ला पारी हेर्दा उफ्रिएपछि शंका लागेको बताए । सोमबार बिहान यस्तो समस्या देखेपछि तत्कालै जिल्ला प्रशासन कार्यालय र उद्योग वाणिज्य संघलाई लामिछानेले खबर गरेपछि पुगेको टोलीले अनुगमन गरी उक्त चामललाई खाद्य तथा गुणस्तर विभागमा अनुसन्धानका लागि पठाउने तयारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी अमृत सुवेदीले जानकारी दिए ।

शंकास्पद भेटिएपछि उक्त ब्रान्डको चामल कुश्माबजारमा बिक्रीका लागि रोक लगाइएको सहायक प्रजिअ सवेदीले बताए । २५ किलोग्राम तौलको बोरामा यो समस्या देखिएको हो । उक्त पसलमा स्टक भएका सबै चामल सिल गरी सम्बन्धित कम्पनीमै पठाउने तयारी भएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट लिइएको हो ।

पर्वत प्लास्टिकको चामल

विशेष