News

नेपाल भ्रमण वर्षः दशरथ रंगशालामा २० यती!

नेपाल भ्रमण वर्षः दशरथ रंगशालामा २० यती!

काठमाडौंः हिममानव यतीलाई प्रत्यक्ष कसैले देखेका छैनन् तर बुधबार दशरथ रङ्गशालामा २० वटा अजङ्गका यती एकसाथ देखिए । यतीको वास्तविक अस्तित्व अझै रहस्यकै पर्दाभित्र छ तर अचानक भेटिएको यतीको लहर हेर्न दशरथ रङ्गशालामा भीड नै लाग्यो । कसैले सेल्फी खिचे, कसैले यतीको फोटो नै खिचे ।

कल्पनाको आकृति अनेक रूपमा देख्दा त्यसको मेहनत केलाउनेको छुट्टै भीड थियो । नेपालको हिमाली भेगमा बारम्बार यतीको पाइला देखिने गरेका खबर बाहिर आइरहन्छ । पछिल्लो समय गएको वैशाखमा भारतीय सेनाको एक टोलीले मकालु हिमालको आधार शिविरमा यतीको पाइला भेटिएको फोटोसहित दाबी गर्यो । टोलीले ३२ इन्च लम्बाइ र १५ इन्च चौडाइको पाइलाको फोटोसमेत सार्वजनिक गरेको थियो । यिनै विश्वमै दुर्लभ र रहस्यमयी यतीको छविलाई भिजिट नेपाल २०२० को मस्कट बनाइएको छ । नेपालको विशाल हिमाली क्षेत्रमा बास रहेको जानकारी दिन यतीलाई मस्कट बनाइएको संयोजक सुरज वैद्य बताउँछन् । 

विभिन्न सन्दर्भग्रन्थअनुसार इतिहासको १९औँ शताब्दीबाट नेपाल र तिब्बतको उच्च हिमाली भेगमा यतीको अस्तित्व रहेको चर्चा हुन सुरु भएको हो । ठ्याक्कै यतीलाई अघिल्तिरबाटै देखेर यसको वास्तविक तस्बिर सार्वजनिक गर्न भने हालसम्म कसैले सकेको छैन । नेपाली शेर्पा र चीनको स्वशासित क्षेत्र तिब्बतवासीका अनुसार मानिसभन्दा अजङ्गको स्वरूप र लामो पुच्छर भएको बाँदरजस्तो आकृति यतीको हुन्छ । सन् १८३२ मा नेपालमा रहेका बेलायती अध्ययता ब्रायन हड्सनले हिमालमा शरीरभरि रौँ भएको भयङ्कर जीवले आफ्ना सहयोगीलाई आक्रमण गरेको उल्लेख गरेका थिए । 

परबाट देखिएको छवि र पाइलाको अध्ययनपश्चात् यतीको विशालकाय आकृतिको परिकल्पना गरिएको छ । यही परिकल्पना साकार पार्दै भिजिट नेपाल २०२० को १०८ वटा मस्कट तयार भइरहेका छन् । भिजिट नेपालको आयोजकसँग सहकार्य गर्दै एक सय ८ कलाकार यतीमा सिङ्गो नेपाल झल्काउन व्यस्त छन् । यो समाचार आजको गोरखापत्र दैनिकबाट लिइएको हो । 

यती दशरथ रङ्गशाला

विशेष