News

नयाँ बसपार्क शुद्धीकरण अभियान, ४ महिनामा ७२१ जना पक्राउ

नयाँ बसपार्क शुद्धीकरण अभियान, ४ महिनामा ७२१ जना पक्राउ

काठमाडौंः मुलुकको राष्ट्रिय बसपार्कका रूपमा रहेको गोङ्गबुँस्थित नयाँ बसपार्कमा शुद्धीकरण अभियान सञ्चालन गरिएको छ । देशका अधिकांश जिल्लाका मानिस राजधानी भित्रिएपछि पहिलोपटक पुग्ने स्थानका रूपमा रहेको नयाँ बसपार्क क्षेत्रमा हुने विकृति, विसङ्गति र लुटपाटको अन्त्यका लागि शुद्धीकरण अभियान सञ्चालन गरिएको हो ।

होटल मिलाइदिने भन्दै यात्रुलाई जबर्जस्ती तानेर दुःख दिने बिचौलिया, क्याबिन रेष्टुरेन्टमा बढी रकम लिएर ठगी गर्ने, दोहोरी साँझ सञ्चालनको नाममा सुतेका व्यक्तिलाई ‘डिस्टर्व’ गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएर कारवाही गरेको छ । प्रहरीले सोमबार मात्र होटल तथा रेष्टुरेन्ट सञ्चालक र बिचौलियालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मित्रनगर देउराली खाजाघरका सञ्चालक जितेन्द्रप्रसाद कँडेल, रिलेशन रेष्टुरेन्टका सञ्चालक प्रेमबहादुर अछामी, मनोज खाजाघरका सञ्चालक नवीन तामाङ, सृष्टि सुब्बा खाजाघरका सञ्चालक धनबहादुर लिम्बू र बागलुङ कालिका खाजाघरका सञ्चालक कुमारी थापा छन् । पक्राउ पर्ने बिचौलियामा राजेश सुनार, मिलन तामाङ, सुवास तामाङ, प्रेम तामाङ, करन सापकोटा, नरेन्द्र किसान र सुरेश तामाङ रहेका छन् ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जले सामुदायिक सेवा केन्द्र गोङ्गबुँ, काठमाडौँ महानगरपालिका–२६, टोखा नगरपालिका–९ र नयाँ बसपार्क क्षेत्रमा क्रियाशील सङ्घसंस्थाको सहकार्यमा गोङ्गबुँ नयाँ बसपार्क क्षेत्रमा हुने विकृति अन्त्यका लागि सामूहिक जाँच तथा प्रचारप्रसारलाई तीव्र पारेको छ । वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले चार महिनाको अवधिमा नयाँ बसपार्क क्षेत्रबाट अनैतिक क्रियाकलापमा लाग्ने ७२१ जनालाई नियन्त्रणमा लिएर कारवाही गरेको बताए । 

‘नियन्त्रणमा लिइएका ७२१ मध्ये २६१ लाई अभद्र व्यवहार, चोरी, मानव बेचबिखन र लागूऔषध कारोवारमा मुद्दा चलाएका छौँ’ उनले भने । मुद्दा चलाइएकामध्ये २०६ पुरुष, ३४ महिला र २१ तेस्रोलिङ्गी छन् ।  

बसपार्क नयाँ बसपार्क शुद्धीकरण अभियान

विशेष