भारतद्वारा विराटनगर आईसीपी र ५० हजार निजी आवास हस्तान्तरण
काठमाडौं – भारतले मोरङस्थित विराटनगर महानरनगरपालिकाको बुधनगरमा निर्माण भएको एकीकृत जाँच चौकी (आईसीपी) नेपाललाई हस्तान्तरण गरेको छ । यस्तै भारतले आफ्नो सहयोगमा गोरखा र नुवाकोटमा निर्माणका भएका ५० हजार वटा निजी आवास (घर) पनि सरकारलाई हस्न्तारण गरेको घोषणा गरेको छ ।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भिडियो कन्फ्रेन्समार्फत भारतीय सहयोगमा बनेको आईसीपी र निजी आवास हस्तान्तरणको घोषणा गरेका हुन् । आईसीपी निर्माणका लागि दिनेशचन्द्र एन्ड आर अग्रवाल इन्फा डटकम अहमदावादलाई भारतले ठेक्का दिएको थियो । सम्झौताअनुसार, उसले भवन, पार्किङस्थल, जाँच पोष्टसहितका संरचना निर्माण गरेको छ । नेपालतर्फ ८ सय ५० मिटर लम्बाइ र ५ सय मिटर चौडाइमा फैलिएको आईसीपी १२९ बिघा क्षेत्रफलमा फैलिएको छ ।
यसमध्ये ४० विघामा ४३२० मिटर लामो चार लेनको कालोपत्रे सडक निर्माणको गरिएको छ । लिंकरोडलाई व्यापारिक मार्ग रानीदेखि धरानसम्मको ४९ किलोमिटरको उत्तररदक्षिणी राजमार्गसँग जोडिएको छ । सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय मोरङले गत २९ मंसिरमै नेपालतर्फ निर्माण हुने आईसीपीका लागि आवश्यक जग्गा भारतीय पक्षलाई हस्तान्तर गरेको हो । निर्माण कार्य सन् २०१७ फेब्रोअरी १ देखि सुरु भएको थियो ।
दुई वर्षभित्र आईसीपी निर्माण सम्पन्न गर्ने भनिए पनि लक्ष्यभन्दा १५ महिनापछि मात्र निर्माण सम्पन्न गरी भारतीय पक्षले नेपालललाई हस्तान्तरण गरेको हो । भारतको कूल १५ अर्ब सहयोगमा गोरखा र नुवाकोटमा ५० हजार घर बनेका छन् । यो आवास निर्माणमा भारतले दिएको रकम सरकारले भूकम्पपीडित लाभग्राहीलाई आर्थिक सहयोगमा रुपमा उपलब्ध गराएको थियो । १५ अर्ब रुपैयाँमध्ये १० अर्ब अनुदान हो भने ५ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण सहयोग हो ।
यसमध्ये गोरखामा २६ हजार ९ सय १२ र नुवाकोटमा २३ हजार ८८ घरको पुनर्निर्माणमा भारतले सहयोग गरेको छ । सरकारले पुनर्निर्माणमा प्रतिघर ३ लाख रकम दिएको हो । जुन रकम पुनर्निर्माण प्राधिकरणमार्फत लाभग्राहीले पाएका थिए । भारतले भूकम्पपछि प्रतिवद्धता व्यक्त गरेको १ खर्ब रुपैयाँबाटै यो रकम खर्च भएको हो । यसअघि गत सेप्टेम्बर १० मा नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाको भारतीय प्रधानमन्त्री मोदीले दिल्लीबाटै तथा प्रधानमन्त्री ओलीले सिंहदरबारबाटै भिडियो कन्फ्रेन्समार्फत संयुक्तरूपमा उद्घाटन गरेका थिए ।