भारतको सहयोगमा अरविन्द आश्रम विद्यालय भवन निर्माण पूरा
काठमाडौँ । काठमाडौंको थानकोटस्थित अरविन्द आश्रम विद्यालयको भवन निर्माण पूरा भएको छ । नवनिर्मित विद्यालय भवनको नेपालका लागि भारतीय राजदूतावासका कार्यवाहक राजदूत डा. अजयकुमारले आज औपचारिक उद्घाटन गर्नुभयो ।
नेपाल सरकार राष्ट्रिय परीक्षाबोर्डबाट सम्बन्धन प्राप्त आवासीय विद्यालय सन् १९९३ मा श्रीअरविन्द योग मन्दिरले स्थापना गरेको हो । विद्यालयले करिब २६० विद्यार्थीलाई माध्यमिक तहको शिक्षा प्रदान गरिरहेको छ ।
विद्यालयमा ५३ प्रतिशतभन्दा बढी छात्रा छन् । अधिकांश विद्यार्थीहरु गरिब, विपन्न र अनाथ छन् । उनीहरुका लागि विद्यालयले निःशुल्क शिक्षा तथा छात्रावासको व्यवस्था गरेको छ ।
शहरी विकास तथा भवन निर्माण विभागले परियोजनाको कार्यान्वयन गरेको हो । भारत सरकारको २.८२५ करोड अनुदान सहयोगमा निर्मित विद्यालय भवन तीनतल्ले छ । नयाँ संरचनामा निर्मित विद्यालयमा ११ वटा कक्षाकोठा, तीन वटा प्रयोगशाला, चारवटा भण्डार कक्ष तथा दुई कर्मचारी कक्ष छन् ।
यसका अतिरिक्त लेखा, प्रशासन, रेकर्ड, पुस्तकालय, प्रधानाध्यापक, व्यक्तिगत सहायक, परीक्षा, बहुउद्धेश्यीय हल र फर्निचरका लागि एक–एक कोठाको व्यवस्था छ । कार्यक्रममा शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणि राम गेलाल लगायत राजनीतिक, सामुदायिक नेतृत्वकर्मी सहभागी थिए ।