स्वीकृत कार्यक्रम माघ मसान्तभित्र सक्न मन्त्री बाँस्कोटाको निर्देशन
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले स्वीकृत कार्यक्रमहरु माघ मसान्तभित्र प्रक्रियामा लगिसक्न मन्त्रालय मातहतका निकायहरुलाई निर्देशन दिएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित मन्त्रालय र मन्त्रालय सम्बद्ध निकायहरुको बार्षिक बजेटमाथिको अर्धबार्षिक समीक्षामा मन्त्री बाँस्कोटाले स्वीकृत बजेट तथा कार्यक्रम अनुसारका योजनाहरु माघ मसान्तभित्र प्रक्रिया सुरु नभए रकम फिर्ता गर्न तयार हुनुपर्ने बताए ।
उनले मन्त्रालय सम्बद्ध निकायहरुलाई विनियोजित बजेट खर्च गर्न नसक्ने भए त्यसको सूची तयार गर्न र बजेट तथा कार्यक्रम छुट्याएर जथाभावी खर्च रोक्न समेत निर्देशन दिए । चालू तर्फ २३ प्रतिशत र पूँजीगत तर्फ १५ प्रतिशत गरी कुल १९ प्रतिशत खर्च भएको छ ।