स्मार्ट लाइसेन्स मात्र होइन, प्रहरी परिचयपत्र समेत नक्कली
काठमाडौँ । नक्कली सवारीचालक अनुमतिपत्र (लाइसेन्स) निवारण गर्न सरकारले प्रयोगमा ल्याएको ‘स्मार्ट लाइसेन्स’ मात्र होइन, सशस्त्र प्रहरीको परिचयपत्रसमेत नक्कली बन्ने गरेको खुलेको छ ।
न्युरोडस्थित स्थापित फोटो स्टुडियो फोटो कन्सर्न प्रालिबाट नक्कली स्मार्ट लाइसेन्स र सशस्त्र प्रहरीको नक्कली परिचयपत्र बरामद भएपछि यो तथ्य बाहिरिएको हो । प्रहरीले कन्सर्नबाट फोटोग्राफर कुमार तण्डुकार, सेल्स अफिसर अनन्त गुरुङ, मार्केटिङ अफिसर अशोक कार्की, क्यासियर मोहन यादवलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार कन्सर्नमा छापा मार्दा लक्ष्मण झाँक्रीको नाममा बनेको स्मार्ट लाइसेन्स, झाँक्रीकै नाममा बनेको सशस्त्र प्रहरीको परिचयपत्र बरामद भएको छ । प्रहरीले बल्खुस्थित आशिष फोटो स्टुडियोका सञ्चालक सुवास भनिने बुद्धिबहादुर रोका र नक्कली लाइसेन्स लिने दीपक ब्लोनलाई पनि पक्राउ गरेको छ ।
अनुसन्धानमा संलग्न महानगरीय अपराध अनुसन्धान महाशाखाका अनुसार कन्सर्नबाट नक्कली स्मार्ट कार्ड बनाउने मेसिन, परिचयपत्र छाप्ने प्रिन्टर, कार्ड काट्ने कटर, लाइसेन्स डिजाइन गर्न प्रयोग गरिएको हार्ड ड्राइभलगायतका सामग्रीसमेत बरामद भएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामीले लेखेका छन ।
नक्कली परिचयपत्र