विदेश

ट्रम्पविरुद्ध महाभियोगको सुनुवाई प्रक्रिया माथिल्लो सदनबाट सुरु

ट्रम्पविरुद्ध महाभियोगको सुनुवाई प्रक्रिया माथिल्लो सदनबाट सुरु

काठमाडौँ। व्यक्तिगत राजनीतिक फाइदाका लागि शक्तिको दुरुपयोग गर्दै युक्रेनलाई दबाब दिएको आरोपमा महाभियोग खेप्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको माथिल्लो सदन सिनेटमा सुनुवाइ सुरु भएको छ ।

सिनेटको सुनुवाइमा बहुमत प्राप्त रिपब्लिकन पार्टीले प्रमुख प्रमाण तथा साक्षीलाई रोक्न चाहेको विपक्षी दल डेमोक्र्याट्सले आरोप लगाएकाे छ । डेमोक्र्याट नेता एडम शिफले महाभियोग प्रक्रिया निष्पक्ष नहुने सम्भावना रहेको बताए, ‘अधिकांश अमेरिकी नागरिकलाई लाग्छ कि सुनुवाइ निष्पक्ष हुँदैन। सिनेटले निष्पक्ष रुपमा सुनुवाइ गर्ला भन्ने धेरैलाई लाग्दैन। उनीहरुलाई लाग्छ परिणाम पहिले नै तय भएको छ।’

रिपब्लिकन पार्टीका नेता मिच म्याककोनेलले जतिसक्दो चाँडो सुनुवाइ सकाउन चाहेको पनि उनले आरोप लगाए। राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टीका सांसद सुनुवाइको अवधि कम गर्न निरन्तर लागिरहेका छन्। ट्रम्पको कानुनी टिमले यो सुनुवाइ अमेरिकी संविधानसँगको खेलवाड भएको बताएका छन्।

अमेरिकी इतिहासमा महाभियोग सामना गर्ने ट्रम्प तेस्रो राष्ट्रपति हुन्। उनीविरुद्धको महाभियोगको सुनुवाइ कहिलेसम्म जारी रहन्छ भन्ने टुंगो छैन। अमेरिकी संसदको तल्लो सदन हाउस अफ् रेप्रिजेन्टेटिभ्सले गत महिना राष्ट्रपति ट्रम्पविरुद्ध महाभियोग लगाउने निर्णय गरेको थियो। तल्लो सदनमा डेमोक्र्याट्सको बहुमत छ। माथिल्लो सदन सिनेटमा रिपब्लिकनको बहुमत भएकाले महाभियोग पारित गरी ट्रम्पलाई पदच्यूत गर्ने सम्भावना भने न्यून रहेको छ।

ट्रम्पले मंगलबारबाट डाभोसमा सुरु भएको वर्ल्ड इकोनोमिक फोरमा आफूविरुद्धको आरोप ‘केवल एउटा हल्ला’ भएको बताएका छन्। ट्रम्पविरुद्धको महाभियोग अमेरिकी प्रधानन्यायाधीश जोन रोबर्ट्ससमक्ष भरहेको छ।

ट्रम्प महाभियोग सुनुवाई

विशेष