News

दीपक मनाङेविरुद्ध पक्राउ पुर्जी जारी

दीपक मनाङेविरुद्ध पक्राउ पुर्जी जारी

कास्की । गण्डकी प्रदेशसभा सदस्य (सांसद) राजीव गुरुङ  भनिने दीपक मनाङेलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय कास्कीले पक्राउ पूर्जी जारी गरेको छ ।

पोखरामा जारी मुख्यमन्त्री कप (फुटबल) प्रतियोगिताको उद्घाटन कार्यक्रममै मनाङेले कास्की एन्फा अध्यक्ष मिलन गुरुङमाथि हातपात गरेका थिए । अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष गुरुङले आफूमाथि कुटपिट गरेको भन्दै मनाङेविरुद्ध उजुरी दिएका थिए ।

उजुरीपछि मनाङे विरुद्ध कास्की प्रहरीले अभद्र व्यवहारको कसुरमा मुद्दा प्रक्रिया अगाडि बढाएको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी राजकुमार केसीका अनुसार मनाङेविरुद्ध जिल्ला प्रशासन कार्यालयले पक्राउ पूर्जी जारी गरेको जानकारी दिए ।

‘अखिल नेपाल फुटबल संघ कास्कीका अध्यक्ष (मिलन गुरुङ) को नामबाट दायर भएको उजुरीका आधारमा हामीले मुद्दा प्रक्रिया अगाडि बढाएको छौं,’ जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी केसीले जानकारी दिए ।

उनले भने, ‘अभद्र व्यवहारको कसुरमा मुद्दा चलाउनका लागि नियन्त्रणमा लिनपर्ने भएकाले पक्राउ पूर्जीका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थियौं। पक्राउ पूर्जी जारी भएको छ अब पक्राउ गर्छौं ।’

मनाङेबाट कुटिएको गुरुङले बुधबार जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका थिए ।

विशेष