News

छाउगोठ बस्न बाध्य पार्नेलाई ४५ दिन कैद

छाउगोठ बस्न बाध्य पार्नेलाई ४५ दिन कैद

मङ्गलसेन। छाउगोठमा भाइबुहारीको मृत्युपछि पक्राउ परेका साँफेबगर नगरपालिका–३ सिद्धेश्वरका छत्र रावतलाई जिल्ला अदालत अछामले ४५ दिन कैद फैसला सुनाएको छ ।

जिल्ला न्यायाधीश नवीनकुमार जोशीको इजलासले रावतलाई ४५ दिन कैद फैसला सुनाएको स्रेस्तेदार प्रेमप्रकाश थापाले जानकारी दिए। छाउगोठमा बस्न बाध्य पारेको आरोपमा पक्राउ परेर कानुनी कारबाहीमा पर्ने रावत पहिलो व्यक्ति भएका छन् । रावत यसअघि अदालतको आदेशमा २५ दिन प्रहरी हिरासतमा बसिसकेका छन् ।

रावतलाई भेदभाव तथा अन्य अपमानजनक शीर्षकमा गएको पुस १३ मा मुद्दा दर्ताको पछिल्लो दिन १५ हजार रुपियाँ धरौटीमा रिहा गरेको थियो । एक वर्षभन्दा कम कैद सामान्य प्रकृतिका मुद्दामा प्रतिदिन तीन सय रुपियाँका दरले बुझाएर जान मिल्ने भएका कारण रावतले कैदमा बस्न बाँकी रहेको १० दिनको छ हजार रुपियाँ बुझाएर गएको अछाम प्रहरीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए ।

रावतकी भाइबुहारी २१ वर्षीया पार्वती बुढा रावतको मङ्सिर १५ गते राति छाउगोठमै मृत्युपछि प्रहरी प्रतिवेदका आधारमा घरमूली रहेका छत्र रावतलाई सोही महिनाको १९ गते पक्राउ गरिएको थियो । रावतको मृत्युपछि गृह मन्त्रालयको निर्देशनमा अछाममा छाउगोठ भत्काउने अभियान तीव्र भइरहेको छ । अछाममा सन् २००७ यता १४ जना महिला तथा किशोरीको मृत्यु छाउगोठमै बसेका कारण भइसकेको छ ।

मुलुकी अपराध संहिताको दफा १६८ मा छाउगोठमा बस्ने वा बस्न बाध्य पार्नेलाई तीन हजार रुपियाँ जरिवाना र तीन महिना कैद वा दुवै सजाय हुने व्यवस्था रहेको छ । छाउगोठमा बस्ने र बस्न प्रेरित वा दबाब दिनेलाई स्थानीय तहबाट दिइने सेवाबाट वञ्चित गरेर कानुनी कारबाही थालिने स्थानीय जनप्रतिनिधिले यसअघि नै प्रतिबद्धता गरिसकेका छन् ।  यो समाचार आजको गोरखापत्र दैनिकमा शिवराज ढुंगानाले लेखेका छन।  

छाउगोठ कैद

विशेष