News

राष्ट्रिय सभाका १८ सदस्य पदका लागि आज मतदान हुँदै

राष्ट्रिय सभाका १८ सदस्य पदका लागि आज मतदान हुँदै

काठमाडौंः राष्ट्रिय सभाका १८ सदस्य पदका लागि आज मतदान हुँदैछ । सातै प्रदेशका उच्च अदालत रहेका स्थानमा बिहान १० बजेदेखि दिउँसो चार बजेसम्म मतदान हुनेछ । संविधानअनुसार राष्ट्रिय सभाका कुल सदस्यमध्ये एकतिहाइ सांसदको पदावधि दुई वर्षको मात्रै हुन्छ ।

सोही व्यवस्थाबमोजिम रिक्त हुन लागको १८ सिटका लागि निर्वाचन हुन लागेको हो । नेकपाका आठ, कांग्रेसका सात, राजपाका दुई, समाजवादीका एकजना सदस्यको कार्यकाल २० फागुनमा सकिँदैछ । पदावधि सकिनुभन्दा ३५ दिन अघि नै नयाँ सदस्यका लागि निर्वाचन हुने संवैधानिक प्रावधान छ ।

रिक्त १९ मध्ये एक सदस्य राष्ट्रपतिबाट मनोनीत हुने संवैधानिक प्रावधान छ । प्रदेश १ को मोरङ, प्रदेश २ को धनुषा, बागमती प्रदेशका ललितपुर, गण्डकीको कास्की, प्रदेश ५ को दाङ, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको डोटीमा मतदान हुने निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

निर्वाचनको सम्पूर्ण तयारी पूरा पूरा भइसकेको आयोगले जनाएको छ । निर्वाचनमा प्रदेश सभा सदस्य पाँच सय ५० र स्थानीय तहका प्रमुख र उपप्रमुख एक हजार पाँच सय ६ जना मतदाता रहनेछन् । निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार १८ रहेको छ ।

आयोगका अनुसार मतदान लगत्तै राजनीतिक दलहरुको सहमतिमा मत गणना सुरु हुनेछ । कुनै बाधा नभए गणना प्रारम्भ भएको डेढ दुई घन्टामै परिणाम आइसकने आयोगले जनाएको छ ।

राष्ट्रिय सभा राष्ट्रिय सभा निर्वाचन

विशेष