News

बाँदर आतङ्क रोक्न रातदिन पहरा

बाँदर आतङ्क रोक्न रातदिन पहरा

रसुवा – खेतबारीमा लगाएका हिउँदे आलु बाँदरले नोक्सान गर्न थालेपछि दक्षिणी भेगका अधिकांश किसान रातदिन पहरा दिन थालेका छन् ।

स्थानीय समाजसेवी विष्णुप्रसाद देवकोटाका अनुसार दक्षिणी रसुवाको कालिका गाउँपालिका वडा नं ५ गैरीफाँट खेत, बडहरे, चित्ती, रूप्सेपानी भदौरे, धुसेनीलगायतका क्षेत्रमा रोपिएका हिउँदे आलुको बोटसमेत उखेलेर बाँदरले फल खान थालेपछि किसानले रातदिन नै पहरा दिन थालेका हुन् ।

आलु खान कम्तीमा २ सय भन्दाबढीको सङ्ख्यामा बाँदरका हुल आउने र १०/२० जनाले बाँदरलाई लखेट्न नसक्ने भएपछि अहिले त्यस क्षेत्रका सयौँ किसान हिउँदे प्रमुख बाली जोगाउन सामूहिक पहरा दिने गरेको स्थानीयको भनाइ छ ।

बाँदरको सङ्ख्या ह्वात्तै बढ्दै गएपछि खेतबारीको अलावा घरमा भण्डारण गरिराखेको अन्नपातसमेत घरको धुरीबाट बाँदरले लाने गरेको र घरमा बाँदर पस्न छालेपछि ससाना बालबालिका डराउन थालेको दक्षिणी रसुवाका बासिन्दाले बताएका छन् ।

विशेष