News

अब ट्रायल शुल्क २४ रुपैयाँ मात्रै !

अब ट्रायल शुल्क २४ रुपैयाँ मात्रै !

गण्डकी प्रदेश – गण्डकी प्रदेशमा सवारी चालक अनुमतिपत्रका लागि यातायात व्यवस्था कार्यालयमा ट्रायल दिँदा तिर्नुपर्ने शुल्क घटाइएको छ । यस अगाडि ट्रायल दिन कार प्रयोग गरेवापत तीन सय रुपैयाँ शुल्क तिनुपर्नेमा अबदेखि २४ रुपैयाँ मात्रै शुल्क तिरेर प्रयोग गर्न सकिने भएको छ ।

यातायात व्यवस्था कार्यालय गण्डकी र सनराइज ड्राइभिङ स्कूलअन्तर्गतको कुसुम सप्लायर्सको सहकार्यमा सो रकममा छुट प्रदान गर्ने भएको हो । १५ माघबाट लागू हुनेगरी सम्झौता भएको सनराइज ड्राइभिङका अध्यक्ष वसन्त भट्टचनले जानकारी दिए ।

चारपाङग्रे जिप, कार, डेलिभरी भ्यानका लागि पहिला तीन सय रूपैयाँ तिर्नुपर्नेमा अब २४ रूपैयाँ मात्रै शुल्क लिन शुरु भएपछि ट्रायल दिने सर्वसाधरणलाई राहत हुने भट्टचन भनाइ छ ।

ट्रायल दिने क्रममा बसका लागि सात सय रूपैयाँ लिने गरिएकामा १ सय ८९ रूपैया, मिनीबसका लागि छ सय रूपैया लिने गरिएकामा अब १ सय २४ र ट्र्याक्टरका लागि पाँच सय रूपैया लिने गरिएकामा अब ८९ रुपैयाँ शुल्क लाग्नेछ ।

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र र सनराइज ड्राइभिङअन्तर्गतको कुसुम सप्लायर्सबीच २३ पुसमा सम्झौता भएको हो ।

नयाँ शुल्कमा ट्रायलमा उपलब्ध हुने गाडी नयाँ विशेषतासहितका हुने बताइएको छ । यस अगाडि पुराना मोडलका गाडीबाट ट्रायल दिनुपर्ने बाध्यता अब हट्नेछ । युरो मापदण्डका २०१९ मोडलका गाडी ट्रायलमा राखिनेछ ।

पावर स्टेरिङ, एसी, पावर विन्डोज, एबीएस एण्ड इबिडी सिस्टम, एयर ब्याग, ८ सय सिसी क्षमताको इन्जिन, ग्राउण्ड किलियरेन्स १ सय ८५ सिसी, व्याक सेन्सरलगायतका विशेषता भएका गाडी ट्रायलमा राखिने बताइएको छ । 

विशेष