News

राष्ट्रियसभा सदस्य निर्वाचन: नेकपा १६,राजपा २ कांग्रेसद्वारा हारको नयाँ कीर्तिमानी

राष्ट्रियसभा सदस्य निर्वाचन: नेकपा १६,राजपा २ कांग्रेसद्वारा हारको नयाँ कीर्तिमानी

काठमाडौँ। देशको सातवटै प्रदेशमा बिहीबार सम्पन्न भएको राष्ट्रिय सभा सदस्यको निर्वाचनमा प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कुल १८ पदमध्ये १६ पदमा विजयी भएर नयाँ कीर्तिमान कायम गरेको छ ।

यस निर्वाचनमा नेकपासँग गठबन्धन गरेको राष्ट्रिय जनता पार्टी नेपालले दुई पदमा विजय हासिल गरेको छ । यसैगरी, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका अन्य दलले कुनै प्रदेशमा विजय प्राप्त गर्न सकेनन् । नेपाली कांग्रेसले प्रदेश २ मा समाजवादी दलसँग गठबन्धन गरे पनि दुवै दललाई सफलता मिलेन । नेकपाले बिदा हुन लागेका नौ सांसदको पदलाई सुरक्षित राख्दै थप आठ पद थपेको छ । यस निर्वाचनमा नेकपाले प्रतिशतको हिसाबमा ८८ र राजपाले ११ प्रतिशत पदमा जित हासिल गरेका छन् ।

नेपालको राजनीतिक इतिहासमा निर्वाचनमा भाग लिएर कुनै पदमा एक स्थान पनि प्राप्त गर्न नसेर कांग्रेसले पनि नयाँ कीर्तिमान कायम गरेको छ । काँग्रेसले अब विदाइ हुन लागेका सात सांसदको सबै पद गुमाएको छ । यद्यपि यस निर्वाचनमा सबै प्रदेशमा कांग्रेस मुख्य प्रतिस्पर्धी रहेको छ । कुल ५९ सदस्यीय राष्ट्रिय सभामा सात प्रदेशबाट आठ आठजनाको दरको ५६ जना निर्वाचित हुने र नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत तीनजना रहने संवैधानिक व्यवस्था छ ।

नेपालको संविधान जारी भएपछि २०७४ सालमा भएको पहिलो पटक राष्ट्रियसभाको निर्वाचन भएको थियो । हरेक वर्ष एक तिहाइ सदस्य पद रिक्त हुने संवैधानिक प्रावधानअनुसार, यस वर्ष निर्वाचित १८ र मनोनीत एक गरी १९ पद रिक्त रहेको छ । एक पदमा राष्ट्रपतिबाट मनोनीति भएपछि पदपूर्ति हुने व्यवस्था भएकाले बिहीबार १८ पदका लागि मतदान भएको हो । यो  समाचार गोरखापत्र दैनिकमा नारद गौतमले लेखेका छन।  

राष्ट्रियसभा सदस्य निर्वाचन

विशेष