News

रातो मासुमा कालो धन्दा

रातो मासुमा कालो धन्दा

काठमाडौँ। सरकारले भारतीय खसीबोका आयातमा कडाइ गरेको छ। पशु सेवा विभागका अनुसार तीन महिनायता भारतबाट एउटा पनि खसीबोका भित्रिएको छैन। काठमाडौंलगायत सहरमा भने भारतीय खसीबोका नै स्थानीय भनेर बिक्रीवितरण भइरहेको छ।

यसअघि दसैंताका ३०–४० हजार खसीबोका राजधानी भित्र्याइएका थिए। काठमाडौंमा सातामा ५ हजार खसी खपत हुने अनुमान छ। चौपाया व्यवसायी संघ कलंकीका अध्यक्ष जनक खड्का आफूकहाँ भारतीय खसीबोका नआएको बताउँछन्। ‘दसैंपछि वैधानिक रूपमा एउटा पनि खसीबोका काठमाडौंमा ल्याइएको छैन। चोरबाटोबाट फाट्टफुट्ट नआएका भने होइनन्’, उनी भन्छन्, ‘यसमा सरकार जिम्मेवार हुनुपर्छ। भारतबाट आउने खसीबोकामा कडाइ हुँदा चोरी भएर आउने गर्छन्।’

विभागले २०७५ फागुन २६ गतेदेखि क्वारेन्टाइन ऐन कडाइका साथ कार्यान्वयनमा ल्याएको हो। खसीबोका नेपाल भित्र्याउन सम्बन्धित देशले नै स्वस्थ भएको प्रमाणपत्र उपलब्ध गराउनुपर्छ। क्वारेन्टाइनमा गुणस्तर प्रमाणसमेत प्राप्त गर्नुपर्छ। यो प्रक्रिया पूरा गर्न व्यापारीलाई महिनौं लाग्छ।

भारतीय खसीबोका सहज रूपमा भित्रिन नपाएपछि नेपालको उत्पादनले बजार धान्न सकेन। त्यसपछि भारतीय खसीबोका अवैध रूपले नेपाल छिराउने र राजधानीसम्म ल्याउने काम गिरोहले गरिरहेको छ। जसका कारण राजस्व ठूलो मात्रामा नोक्सान भइरहेको छ। यति मात्र होइन, अवैध तरिकाले आउने खसीबोकाको क्वारेन्टाइन परीक्षण नहुँदा उपभोक्ताको स्वास्थ्यसमेत जोखिममा छ। यो समाचार आजको अन्नाप्र्ना पोस्ट दैनिकमा आकाश क्षेत्रीले लेखेका छन।  

खसीबोका

विशेष