News

आज सोनाम ल्होछार

आज सोनाम ल्होछार

ललितपुर । आज तामाङ समुदायले नयाँ बर्षको रुपमा सोनाम ल्होछार २८५६  मनाउदैछन। शनिबारबाट सुँगुर  वर्ष (फाक लो) सकिएर मुसा वर्ष (जिवा लो) सुरु भएको छ ।

राष्ट्रिय सोनाम ल्होछार २८५६ बृहत् मूल समारोह समितिले राजधानीको टुँडिखेलमा एक औपचारिक कार्यक्रम गरेको छ । विशेष गरी १२ जीवजन्तुलाई आधार मानेर ल्हो चक्रमा विश्वास गर्ने र जन्मदेखि मृत्यु हुँदासम्म पनि सोही चक्रका आधारमा विभिन्न संस्कार गर्ने परम्परा छ ।

तामाङ समुदायले हरेक माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होछार मनाउने गर्दछन् । ल्होछारको अवसरमा शनिबार दिउँसो टुँडिखेलमा एक सांस्कृतिक कार्यक्रम हुँदै छ । कार्यक्रममा तामाङ वेशभूषा झल्कने वस्त्र तथा टोपी लगाएर यही समुदायका मानिस भेला हुँदै छन् । तामाङ भाषामा ल्होको अर्थ नयाँ र सारको अर्थ वर्ष भन्ने हुन्छ । ल्होछारका अवसरमा साथीभाइ तथा आफन्त भेला भएर मीठामीठा परिकार बनाएर खानुका साथै एकआपसमा नयाँ वर्षको शुभकामना आदानप्रदान गर्ने गर्छन् । सोनाम ल्होछारका अवसरमा साता दिनअघि नै विभिन्न कार्यक्रमहरू भइरहेका छन् ।

ल्होछारको अवसरमा राजधानीको टुँडिखेलमा हुने विशेष कार्यक्रममा विभिन्न वेशभूषा, तामाङ संस्कृति झल्कने झाँँकी, विभिन्न परिकार तथा तामाङ जातिसम्बन्धी पुस्तक, गीति क्यासेटका स्टलहरू राखिने तयारी छ । शनिबार बिहान साढे ११ बजे शान्ति बाटिकाबाट एक विशेष सांस्कृतिक -याली निकालिँदै छ ।

पर्वको अवरमा मीठामीठा खानेकुरा पकाएर खाने, साथीभाइ भेटघाट गर्ने र भोज खाने प्रचलन छ । पानी रोटीमा विभिन्न मरमसला राखी बनाइएको परिकार, गेडागुडीका परिकार, मासु तथा रक्सीलगायत खानेकुरा पनि खाइन्छ ।

‘ता’ भन्नाले घोंडा अनि ‘माङ’ भन्नाले लडाकूहरू भन्ने तामाङ समुदायबारे लेखिएका विभिन्न पुस्तकहरूबाट बुझिन्छ । यस अर्थमा घोडचढीमा निपुण साहसीहरूको समुदाय तामाङहरू वास्तवमै आफ्नो साहस, वीरता अनि रणकौशलका लागि नेपालमा मात्र नभई संसारभरि प्रचलित छन् ।

ल्होसार नेपालका हिमाली भेगका ठूलो जनसंख्याले मनाउने महत्वपूर्ण चाड हो । खासगरी शेर्पा, तामाङ, गुरुङ र भोटेले नयाँ वर्षको रूपमा मनाउने गर्छन् । ल्होसार मनाउने प्रचलन चीन (तिब्बत) तिरबाट नेपालमा भित्रिएको मानिन्छ । ल्होसार तीनथरिका रहेका छन् । तिनमा तोला ल्होसार, सोनाम ल्होसार र ग्याल्बो ल्होसार रहेका छन् । राजधानी दैनिकबाट 

सोनाम ल्होछार

विशेष