कोरोना भाइरस संक्रमितका लागि चीनले १० दिनभित्र हजार शैय्याको अस्पताल बनाउँदै
बेइजिङ। चीनमा फैलिएको अज्ञात कोरोना भाइरसको संक्रमणले महामारीको रुप लिन थालेपछि नयाँ अस्पताल बनाउने तयारी भएको छ । चीनले १० दिनमा कोरोना भाइरस संक्रमितलाई उपचारका लागि सो अस्पताल बनाउन लागेको जनाइएको छ।
वुहानको केन्द्रमा बन्ने उक्त अस्पतालामा फेब्रुअरी ३ दिनदेखि उपचार थालिने बताईएको छ। कोरोना भाईरसका कारण हालसम्म चीनमा ४१ जनाको मृत्यु भईसकेको छ भने सयौं बिरामी परेका छन।
उक्त भाइरस अन्य क्षेत्रमा फैलिन नदिन आवतजावतमा समेत प्रतिबन्ध लगाइएको छ । नयाँ अस्पताल निर्माणका लागि दर्जनौं डोजर तथा स्काभेटर काममा खटिएका तस्बिरहरु सार्वजनिक भएका छन् । अस्पताल एक हजार शय्याको हुने र २५ हजार वर्गमिटरको क्षेत्रफलमा बन्ने भएको छ ।
चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार उक्त नयाँ अस्पतालमा बिरामीलाई पर्याप्त उपचार र औषधिको व्यवस्था गरिने लक्ष्य रहेको छ । सन् २००३ मा बेइजिङमा सार्स भाइरसको संक्रमण फैलिँदा ३४९ जनाको चीनमा र २९९ जनाको हङकङमा मृत्यु भएको थियो । उक्त समयमा पनि चीनले बेइजिङ आसपासका क्षेत्रमा तत्काल अस्पतालहरु बनाएको थियो ।
चीन अस्पताल कोरोना भाइरस