विदेश

टर्कीमा शक्तिशाली भूकम्पः ज्यान गुमाउनेको संख्या १८ पुग्यो

टर्कीमा शक्तिशाली भूकम्पः ज्यान गुमाउनेको संख्या १८ पुग्यो

बीबीसीः टर्कीको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्पमा परेर १८ जनाको ज्यान गएको छ भने सैयौँको सङ्ख्यामा मानिसहरू घाइते भएको अधिकारीहरूले बताएका छन् । रिक्टर स्केलमा ६.८ म्याग्निट्यूड नापिएको उक्त भूकम्पका कारण भवनहरू भत्किएका छन् । भूकम्पको धक्का छिमेकी राष्ट्र सिरिया, लेबनन र इरानमा पनि महसुस गरिएको बताइएको छ ।

टर्कीमा भूकम्पलाई स्वाभाविक मानिन्छ । सन् १९९९ मा गएको ठूलो भूकम्पमा परेर करिब १७ हजारले ज्यान गुमाएका थिए । स्थानीय समय अनुसार ८ बजेर ५५ मिनेटमा भूकम्प महसुस गरिएको बताइएको छ । टर्कीको डिजास्टर एण्ड इमरजेन्सी म्यानेजमेन्ट अथोरिटीका अनुसार हालसम्म ६० पटक परकम्प गएको छ ।

भूकम्प प्रभावित क्षेत्रमा ४०० भन्दा बढी उद्धारकर्ताहरू बिछौना र टेन्ट बोकेर जाँदै छन् । सरकारले भूकम्पले प्रभावित घरमा नजान सर्वसाधारणहरूलाई आग्रह गरेको छ । ‘त्यो निकै डरलाग्दो थियो । हामी माथि सामान खस्यो। र हामी बाहिर भाग्यौँ’ एएफपी समाचार संस्थाले ४७ वर्षीय मेलाहन्ट क्यानले भनेको उल्लेख गरेको छ।

भूकम्प गएको क्षेत्र राजधानी अङ्काराबाट करिब ५५० किलोमिटर पूर्वतिर पर्छ र त्यो क्षेत्रको जनसङ्ख्या त्यति धेरै छैन जस कारण क्षति र मृत्यु हुनेको सङ्ख्याबारे थप विवरण आउन समय लाग्न सक्ने बताइएको छ । 

टर्की शक्तिशाली भूकम्प

विशेष