News

आयो हिउँदे झरी, पर्‍यो माहुरीपालकलाई भारी

आयो हिउँदे झरी, पर्‍यो माहुरीपालकलाई भारी

हेटौँडाः पुस महिनामा परेको हिउँदे झरीले माहुरीपालक किसानलाई क्षति भएको छ । मौरीको पकेट क्षेत्र मानिएको मकवानपुरको राक्सिराङ गाउँपालिका–६ सिलिङ्गेमा चिउरीको फूलमा चराउन राखिएका अधिकाँश माहुरीका घारबाट माघको दोस्रो साता भइसक्दा समेत किसानले मह काढ्न सकेका छैनन् ।

‘यसपाली चिउरी पनि ढिला फुल्यो, त्यसैमाथि निरन्तर झरी पर्यो’, स्थानीय माहुरीपालक किसान मोतीराम चेपाङले भने, ‘गतबर्षभन्दा आधाआधीले मह उत्पादन घट्ने निश्चित छ ।’ झरी परेपछि फुलेको चिउरी फूलसम्म माहुरी पुग्न नसक्ने र संकलन गरिएको मह खाएर बस्ने हुँदा मह उत्पादन घट्ने मोतीरामको भनाई छ । ‘झरी परेकाले बाहिर अत्यन्तै चिसो हुने भएकाले मह संकलन गर्न माहुरी घारबाट बाहिर निस्कन सक्दैन’, मोतीरामले भने, ‘यस्तो अबस्थामा घारमा जम्मा भएको मह खाएर माहुरीले जीवन धान्नुपर्छ ।’ संकलन भएको मह माहुरीले नै खाएपछि किसानको भागमा मह नपुग्ने उनको तर्क छ ।

राक्सिराङ गाउँपालिका–६ स्थित सिलिङ्गे सामुदायिक वन क्षेत्रमा रहेका चिउरी गतवर्षभन्दा यसवर्ष ढिला गरी फुलेको जनचेतना साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष एबम् मह संकलक दिनेश चेपाङ बताउनुहुन्छ । गतवर्ष पुसको पहिलो हप्तासम्ममा मह उत्पादन भइसकेको थियो । तर, यसवर्ष पुसको तेस्रो हप्तासम्म चिनीको चास्नी खुवाएर माहुरी बचाउनु परेको उनले बताए । 

अध्यक्ष चेपाङका अनुसार सहकारीले यस क्षेत्रको मह उत्पादन गरी देशभर पुर्याउने गरेको छ । सहकारीले लोथर बजारमा मह प्रशोधन केन्द्र स्थापना गरी मह संकलन, प्रशोधन र प्याकेजिङको काम गर्छ । यस वर्षको सिजनमा ८० हजार किलोग्राम मह संकलन गरी विक्री गर्ने लक्ष्य राखिएकामा ५० प्रतिशत लक्ष्य हासिल गर्न पनि निकै चुनौति रहेको अध्यक्ष चेपाङले बताए । ‘यसवर्ष झरीवर्षाले माहुरीपालक किसानलाई निराश बनायो’, अध्यक्ष चेपाङले भने, ‘सँधै मह संकलन गरेर किसानलाई काढ्न दिने माहुरीले यसबर्ष आफ्नो मह आफैले खपत गर्यो ।’

राक्सिराङ गाउँपालिका वडा नं ६ का वडाध्यक्ष सिंगलाल चेपाङका अनुसार सिलिङ्गे सामुदायिक वन उपभोक्ता समूहमा मात्रै ढेड लाख वटा चिउरीका रुखहरु छन् । चिउरीको फूलमा माहुरी चराउनका लागि मनहरी, हेटौँडा, चितवन लगायतका स्थानबाट माहुरीपालक किसानले मौरीका घारहरु सिलिङ्गे पुर्‍याउने गरेका छन् । हाल सो क्षेत्रमा ५ हजार माहुरीका घारहरु चिउरी भएका जंगल छेउमा चरणका लागि राखिएका छन् । सिलिङ्गे क्षेत्रबाट हरेक वर्ष २ करोडको मह उत्पादन हुने अनुमान गरिएको छ । गाेरखापत्र दैनिकबाट 

हेटौंडा माहुरीपालक

विशेष