अग्नि सापकोटा सभामुखमा निर्विरोध निर्वाचित
काठमाडौं– संघीय संसदकाे प्रतिनिधि सभाको सभामुखमा अग्नि सापकोटा निर्विरोध निर्वाचित भएका छन् । आइतवार बसेको प्रतिनिधिसभाको बैठकबाट सापकोटा निर्विरोध निर्वाचित भएका हुन् ।
प्रतिनिधिसभाका जेष्ठ सदस्य महन्थ ठाकुरले सापकोटा निर्विरोध निर्वाचित भएको घोषणा गरेपछि अाैपचारिक रूपमा जानकारी गराएका छन्। नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले सापकोटालाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव गरेका थिए ।
जुन प्रस्तावमा नेकपाकै देव गुरुङ, ओनसरी घर्तीमगर र राष्ट्रिय जनता पार्टीका लक्ष्मणलाल कर्णले समर्थन गरेका थिए । बैठकको अध्यक्षता गरिरहेका महन्थ ठाकुरले सापकोटा निर्विरोध निर्वाचित भएको घोषणा गरे । गत असोज १४ गते कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त थियो । प्रतिनिधि सभाले करिब चार महिनापछि निर्विरोध नै सभामुख पाएको हो ।
त्यस्तै, सापकोटाको उमेदवारीमा समर्थन गर्दै नेकपा सांसद ओनसरी घर्तीमगरले सभामुखमा सर्वसम्मतीको अवस्था बनेकोमा खुशी व्यक्त गर्दै प्रमुख प्रतिपक्षी कांग्रेस सहित सबै दललाई धन्यवाद दिइन् । सापकोटा सभामुख बन्दा शान्तिप्रक्रियाको बाँकी काम पुरा गर्न सहयोग पुग्ने उनले विश्वास व्यक्त गरिन् ।