News

भारतकाे मौसमी प्रणालीले नेपालमा बदलीसँगै वर्षाको सम्भावना

भारतकाे मौसमी प्रणालीले नेपालमा बदलीसँगै वर्षाको सम्भावना

काठमाडौं– भारतको उत्तरपूर्वी भू–भागमा विकसित भएको मौसमी प्रणालीका कारण नेपालको पूर्वी, मध्य र पश्चिमका केही भेगमा मौसम बदली भएको छ ।

उक्त मौसमी प्रणालीले अहिले देशका पूर्व र मध्यका सबै भूभाग तथा पश्चिमको बाग्लुङ र पर्वतपूर्व बाहेकका पहाडी जिल्लामा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका मौसमविद् मञ्जु बासीले बदलीसँगै देशका मध्य र पूर्वका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइन् ।

सोमबारदेखि मौसममा क्रमिक सुधार आए पनि साँझतिर पुनः पश्चिमी न्यूनचापीय प्रणाली नेपाल प्रवेश गर्ने भएकाले अझै केही दिन मौसम बिग्रने उनले उल्लेख गरे। मौसमविद् बासीका अनुसार मौसमी प्रणाली भित्रिए पनि काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम भने वृद्धि नहुने क्रमशः तापक्रम वृद्धि हुँदै जानेछ ।

काठमाडौं उपत्यकामा आइतबार बिहानैदेखि मौसम बदली भइ घाम नलागेका कारण बढी चिसो महसुस गरिएको छ । देशका पूर्व, मध्य र पश्चिम तराई क्षेत्रमा बिहान हुस्सु र कुहिरो लागे पनि आइतबार अपराह्नदेखि कुहिरो हटिसकेको मौसमविद् बासीले बताइन् । आइतबार काठमाडौंको न्यूनतम तापक्रम ४.४ डिग्री सेल्सियस र अधिकतम तापक्रम १६.८ डिग्री सेल्सियस रहेको छ ।

शनिबार र अघिल्ला केही दिन काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम दुईदेखि तीन डिग्रीको हाराहारीमा पुगे पनि घाम लागेका कारण चिसो कम भएको थियो । माघ महिनामा दिउँसोपख घाम लागे पनि बिहान र बेलुका बढी चिसो हुने गरेको छ ।

विशेष