News

रुघाखोकी र ज्वरोको औषधि नपाएर हुम्लामा ७ जनाको मृत्यु 

रुघाखोकी र ज्वरोको औषधि नपाएर हुम्लामा ७ जनाको मृत्यु 

हुम्लाः हुम्लाका गाउँ–गाउँमा फैलिएको रुघाखोकी र ज्वरोको प्रकोप नियन्त्रण गर्ने पहल नहुँदा बिरामीको ज्यानै जान थालेको छ । पछिल्लो तीन सातामा चंखेली, सर्केगाड र खार्पुनाथ गाउँपालिकामा सातजनाको ज्यान गएको हो । 

चंखेली गाउँपालिका–६ मासिधारामा ४५ वर्षीय मदन शाही, ५० वर्षीया जनुकला शाही, ६५ वर्षीय दतिराम सार्की, ६० वर्षीया गोरी सार्की र ६० वर्षकै पाउरी शाहीको मृत्यु भएको छ । उनीहरू सबैको २६ पुसयता ज्यान गएको हो । त्यस्तै, सर्केगाड–३ उनापानीमा ५५ वर्षीय रंगमल फडेरा र खार्पुनाथ–३ रायामा ३५ वर्षीया चन्दा बुढाको मृत्यु भएको छ । 

जिल्लाका विभिन्न गाउँमा फैलिएको रुघाखोकी र ज्वरोलाई स्थानीय स्वास्थ्यकर्मीले सिजनल फ्लु भनेका छन् । तर, स्थानीय स्वास्थ्य संस्थामा पर्याप्त औषधि र दक्ष स्वास्थ्यकर्मी नहुँदा नियन्त्रणमा ल्याउन समस्या परेको छ । ‘हाम्रो गाउँमा मात्रै २६ पुसपछि पाँचजनाको ज्यान गयो । ज्वरो र रुघाखोकीका बिरामीको नाकबाट पातलो पानी बग्छ, हड्डी पनि दुख्छ,’ चंखेली–६ मासिधाराका हीराबहादुर शाहीले नयाँ पत्रिकासँग भने, ‘गाउँमा बिरामी नभएको घर भेट्न मुस्किल छ ।’ उनका अनुसार वृद्धवृद्धा र बालबालिका बढी जोखिममा छन्, तर स्वास्थ्य संस्थामा औषधि अभाव छ । 

गाउँमा प्रकोप फैलिएर बिरामीको ज्यान गएको छ, सम्बन्धित निकायलाई कुनै चासो छैन । चंखेली गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक कालिबहादुर बुढा सुर्खेततिर झरेका छन् । उनले भने, ‘स्वास्थ्य संस्थामा औषधि र स्वास्थ्यकर्मी अभाव छैन ।’ स्थानीय भने स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य इकाइहरूमा रुघाखोकीको औषधिसमेत नपाएर ज्यान गुमाउनुपरेकोमा गुनासो पोख्छन् । जिल्ला सदरमुकामबाट चंखेलीको प्रभावित क्षेत्र पुग्न स्थल मार्गबाट दुई दिन लाग्छ । 

सर्केगाड–३ उनापानीको स्वास्थ्य इकाइमा पनि औषधि छैन । ‘गाउँपालिका स्वास्थ्य शाखाबाट दिएको औषधि सकियो, तर गाउँमा बिरामी झन् बढेका छन्,’ अनमि नन्दा फडेराले भनिन्, ‘दैनिक ३०–४० बिरामी हामीकहाँ आउँछन्, तर त्यसै फर्काउनुपरेको छ ।’ कतिपयमा दमको समस्यासमेत देखिएको, तर गाउँपालिकाबाट औषधि नआउँदा दिन नसकिएको उनको भनाइ छ । 

जिल्ला अस्पातलमा पनि मौसमी रुघाखोकीका बिरामी बढ्न थालेको डा. नवीन रोकायले भने । दैनिक अस्पताल आउने ४०–५० मध्ये ७–८ जना सिजनल फ्लुका बिरामी भेटिएको उनले बताए । ‘खोकी लाग्ने, ज्वरो आउने, नाकबाट पातलो सिँगान बग्ने र हड्डी दुख्ने समस्या उनीहरूमा देखिएको छ,’ डा. रोकायले भने । यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो । 

औषधि रुघाखोकी हुम्ला ज्वरो

विशेष