News

४ महिनापछि प्रतिनिधिसभाले आज पाउँदै छ सभामुख

४ महिनापछि प्रतिनिधिसभाले आज पाउँदै छ सभामुख

काठमाडौंः गत असोजदेखि सभामुखविहीन रहेको प्रतिनिधिसभाले आज नयाँ सभामुख पाउँदैछ । सभामुखका लागि नेकपाका तर्फबाट अग्निप्रसाद सापकोटाको मात्रै उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित हुँदै छन् ।

सभामुख चयन प्रक्रिया टुंग्याउनका लागि आइतबार दिउँसो ३ बजे बैठक आह्वान गरिएको संघीय संसद् सचिवालयले जनाएको छ । ज्येष्ठ सदस्यको हैसियतमा महन्थ ठाकुरले बैठक सञ्चालन गर्दै सापकोटाका प्रस्तावक र बोल्न समय दिने छन् । प्रस्तावक र समर्थकले आफ्ना भनाइ राखेपछि ठाकुरले एकल उम्मेदवारी परेकाले सापकोटा सभामुखमा निर्वाचित भएको घोषणा गर्ने छन् ।

सभामुख निर्वाचन प्रक्रिया सकिएलगत्तै आजै अर्को बैठक पनि बस्नेछ । दोस्रो बैठक नवनिर्वाचित सभामुखले सञ्चालन गर्ने संसद् सचिवालयले जनाएको छ ।

संसद् सचिवालयकी महिला कर्मचारीमाथि यौन दुव्र्यवहारको आरोप लागे लगत्तै प्रतिनिधिसभा गत असोजदेखि सभामुखविहीन छ । सत्तारूढ नेकपाले सभामुख उम्मेदवार टुंगो लगाउन नसक्दा प्रतिनिधिसभा बन्धक बनेको थियो । लामो गलफतीबीच नेकपाले सापकोटालाई अघि सारेपछि सभामुख चयन प्रक्रिया अघि बढेको हो ।
 

अग्निप्रसाद सापकोटा प्रतिनिधिसभा सभामुख

विशेष