दोस्रो चरणको चक्रपथ विस्तार: तयारी कुर्दै चिनियाँ टोली
काठमाडौँ। पूर्वतयारी समयमै नगरिँदा राजधानीको चक्रपथ विस्तार अन्तर्गतको दोस्रो चरणको काममा ढिलाइ भएको छ । विस्तारका लागि रूख कटान, बिजुलीका पोल स्थानान्तरण तथा सडक क्षेत्रमा परेका संचरना हटाउने कार्य हुन नसक्दा काममा ढिलाइ भएको हो ।
त्यसैगरी, महाराजगञ्ज क्षेत्रमा गर्नुपर्ने जग्गा अधिग्रहण हुन नसक्दा दोस्रो चरणको चक्रपथ विस्तार सुरु हुन नसकेको हो । सम्बद्ध अधिकारीका अनुसार महाराजगञ्ज क्षेत्रमा घर भत्काउनु र जग्गा अधिग्रहण गर्न नसकिँदा दोस्रो चरणको चक्रपथ विस्तार कार्यमा समस्या देखिएको छ । चक्रपथको कलङ्कीदेखि धोबीखोला (चावहिल) पुलसम्म दोस्रो चरणमा विस्तार गर्न लागिएको हो ।
चक्रपथको यो खण्डको कुल लम्बाइ ११.६ किलोमिटर छ । कलङ्कीदेखि महाराजगञ्जसम्मको लम्बाइ ८.२ किलोमिटर र कलङ्कीदेखि कोटेश्वरसम्मको कुल लम्बाइ १७ किलोमिटर छ ।
चक्रपथ विस्तारअन्तर्गतको सो खण्ड विस्तार गर्न चीन सरकारसँग सम्झौता र सबै कानुनी प्रक्रिया पूरा भइसके पनि जग्गा अधिग्रहण तथा सो क्षेत्रमा जडान गरिएका युटिलिटिज (प्रयोग) का सामग्रीहरूको स्थानान्तरण हुन नसक्दा विस्तार कार्य अघि बढ्न नसकेको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन।
चक्रपथ विस्तार