News

माथिल्लो तामाकोसी जलविद्युतः असारसम्म परिक्षण उत्पादनको तयारी

माथिल्लो तामाकोसी जलविद्युतः असारसम्म परिक्षण उत्पादनको तयारी

दोलखाः तोकिएको समयभन्दा धेरै ढिला भएको भनि आलोचना खेप्दै आएको राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जल विद्युत आयोजनाले आगामी असार भित्र परिक्षण उत्पादन सुरु गर्ने तयारी गरेको छ ।

आयोजनाको झण्डै ९८ प्रतिशत काम सम्पन्न भईसकेकोले आगामी असार भित्र एउटा टर्वाईनबाट ७६ मेगावाट परिक्षण उत्पादन हुने आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले बताए । आयोजनामा ६ वटा टर्वाईन रहेको र प्रत्येक टर्वाईनबाट ७६ मेगावाट विद्युत उत्पादन हुने पनि आयोजनाका प्रवक्ता डा न्यौपानेले बताए । 

लट १ को सिभिल कार्य अन्तर्गत बाँध, इन्टेक, डिस्याण्डर, विभिन्न सुरुङहरु, सर्ज ट्याङ्क, पेनस्टक, भूमिगत विद्युतगृह आदि निर्माण कार्यहरुको लागि चिनियाँ ठेकेदार कम्पनी सिनोहाइड्रो कर्पोरेशन लिमिटेडसँग खरिद सम्झौता गरि हेडवक्र्स्को सम्पूर्ण कार्य मध्ये ९९.८ प्रतिशत कार्य सम्पन्न भई आगामी फाल्गुण महिना सम्ममा परिक्षण गर्ने तयारी रहेको प्रवक्ता डा. न्यौपानेको भनाई छ ।

त्यसैगरी लट २ को हाइड्रो मेकानिकल अन्तर्गत बाँधमा गेटहरु जडान गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । लट नं।२ का ठेकेदारले ३७३ मिटरको तल्लो प्रेसर स्याफ्टमा पेनस्टक पाईप जडान गर्न सक्ने कार्य सम्पादन गर्ने क्षमता नपाईएको हुनाले सो कार्य एन्ड्रीज हाईड्रो मार्फत गराउन आवश्यक सम्झौता गराई कार्य अगाडि बढाईएकोमा शनिवारसम्म दुई सय मिटर पेनस्टक पाईप राख्ने कार्य सम्पन्न भईसकेको र तीन सय १० मिटरको माथिल्लो पेनस्टक साफ्टमा लट नम्वर २ का ठेकेदारबाट एक सय मिटर पाईप जडानको कार्य सम्पन्न गरिएको जनाईएको छ ।

त्यसैगरी लट ३ को इलक्ट्रोमेकानिकल अन्तर्गत अष्ट्रियन कम्पनी एन्ड्रीज हाईड्रो जिएमबिएचसँग आयोजनाका मुख्य मेशिन र उपकरणहरु टर्वाइन, जेनेरेटर, ट्रान्स्फर्मर, स्वीचगियर, भल्व, गभर्नर र सोसँग सम्बन्धित उपकरणहरुको डिजाइन, जडान, परीक्षण र कमिसनिङ गर्न खरिद सम्झौता गरिएको र ती सामानहरु साईटसम्म ढुवानी गरी १ देखि ६ नम्वर युनिट सम्मको जडान कार्य सम्पन्न गरी ड्राई कमिसनिङ्ग कार्य समेत सम्पन्न भएकोे आयोजनाले जनाएको छ ।
 

दोलखा माथिल्लो तामाकोसी जल विद्युत आयोजना

विशेष