News

‘कोरोना भाइरस’ प्रभावित मुलुकबाट आउने जहाजलाई छुट्टै पार्किङ

‘कोरोना भाइरस’ प्रभावित मुलुकबाट आउने जहाजलाई छुट्टै पार्किङ

काठमाडौंः सरकारले छिमेकी मुलुक चीनका केही क्षेत्रमा फैलिएको कोरोना भाइरसका कारण पर्यटन क्षेत्रमा पर्न सक्ने सम्भावित जोखिमबारे उच्च सतर्कता अपनाउन सरोकारवालालाई आग्रह गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आज सरोकारवालासँगको छलफलमा मन्त्री योगेश भट्टराईले भाइसरबारे धेरै आत्तिनुपर्ने अवस्था नभए पनि उच्च सावधानी अपनाउन आग्रह गरे ।

भाइरसको प्रकोपलाई फैलन नदिन सरकारले तयारी गरिरहेको जानकारी दिए । ‘कोरोना भाइसर नेपालमा फैलन नदिन सबै सरोकारवालाले उच्च सतर्कता अपनाऔँ, सङ्क्रमण बढेको अवस्थामा नियन्त्रण गर्न सरकार तयार छ’ उनले भने ।  

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा हवाई मार्गबाट भित्रने पर्यटकको स्वास्थ्य परीक्षणका गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘हेल्थ डेस्क’ स्थापना गरिएको र विमानस्थलमा कार्यरत कर्मचारीमा सङ्क्रमण नहोस् भनेर पर्याप्त स्वास्थ्य सावधानी अपनाइएको बताए । ‘हामीले सङ्क्रमण नसरोस् भनेर विमानस्थलका सम्पूर्ण कर्मचारीलाई मास्क, पन्जालगायत सुरक्षात्मक सामग्री उपलब्ध गराएका छौँ’ उनले भने । 

नेपालको पर्यटन प्रवद्र्धनमा छिमेकी चीनको भूमिका अत्यन्त महत्वपूर्ण छ भन्दै उनले सो मुलुकबाट आउने पर्यटकलाई उच्च निगरानीमा राखिएको बताए । विश्व स्वास्थ्य सङ्गठनको मान्यताअनुसार भाइरस प्रभावित मुलुकबाट आउने जहाजलाई विमानस्थलमा अलग्गै ‘पार्किङ’को व्यवस्था मिलाइएको उनले जानकारी दिए । 

भाइरसको सङ्क्रमण फैलन नदिन सरोकारवालाले पनि उच्च सतर्कता अपनाउनुपर्नेमा जोड दिँदै उनले भने, ‘यसलाई रोक्न निजी क्षेत्रको सक्रियता आवश्यक छ ।’ मन्त्री भट्टराईले लुम्बिनी, पशुपति, ठमेल, सौराहलगायत पर्यटकको उच्च चाप हुने क्षेत्रमा अंग्रेजी तथा चिनियाँ भाषामा सचेतनात्मक व्यानर टाँस्न आग्रह गरे । 

सरकारले काठमाडौँ उपत्यकामा कोरोना प्रभावितको उपचार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गर्ने व्यवस्था मिलाएको छ । आवश्यकतानुसार सातै प्रदेशका विभिन्न अस्पतालमा यसको उपचार गर्ने व्यवस्था मिलाइने जनाइएको छ ।

कोरोना भाइरस योगेश भट्टराई पार्किङ

विशेष