News

सर्वोच्चले सभामुख सापकोटा विरुद्धको रिटमा गर्‍यो यस्तो निर्णय

सर्वोच्चले सभामुख सापकोटा विरुद्धको रिटमा गर्‍यो यस्तो निर्णय

काठमाडौं – विभिन्न क्षेत्रबाट भइरहेको विरोधका बाबजुद सभामुखमा निर्वाचित भएका अग्नि सापकोटाविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कानुनी कारवाही अगाडि बढाएको छ। अदालतले उक्त रिटमा कारण देखाउ आदेश जारी गरी कानूनी कारवाही अगाडि बढाएको हाे।

सापकोटालाई सभामुख नियुक्त नगर्न अन्तरिम आदेशको मागदाबी गरिएको रिटमा सर्वोच्चले अन्तरिम आदेश भने जारी गर्न मानेन । दर्ता गरिएको रिटमा द्वन्द्वकालीन घटनाका सन्दर्भमा उल्लेख गरिएको छ। 

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार दायर गरेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लको इजलाशले मंगलबार विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।

वरिष्ठ अधिवक्ता त्रिपाठीले सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सांसद सापकोटालाई सभामुख निर्विचित गर्ने प्रक्रिया रोक्नका लागि आदेश जारी गर्न मागदाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

त्रिपाठीको रिटमाथि सुनुवाईका लागि आइतबार न्यायाधीश हरि प्रसाद फुयालको इजलाशमा पेशी तोकिएकोमा उनले हेर्न नमिल्ने भएपछि सुनुवाई स्थगित भएको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले सोमबार न्यायाधीश मल्लको इजलाशमा पेशी तोकेका थिए ।सोमबार बहस नसकिएपछि रिटको सुनुवाई हेर्दा हेर्दैमा राखिएको थियो । मंगलबार बहस सकिएपछि न्यायाधीश मल्लको इजलाशले कारण देखाउ आदेश जारी गरेको हो ।

सापकोटा भने सभामुखमा निर्वाचित भएर पद्‌भार समेत सम्हालिसकेका छन् । सापकोटाले मंगलबार बसेको प्रतिनिधि सभा बैठकको अध्यक्षता समेत गरिसकेका छन् ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकले सापकोटालाई निर्विरोध रुपमा सभामुखमा निर्वाचित भएको घोषणा गरेको थियो । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका सापकोटाले सोमबार नै पद्भार सम्हालेका थिए ।

विशेष