वीरेन्द्रनगरमा बुधबार बिहानसम्म कर्फ्यू
काठमाडाैँ – कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर मंगलबार दिनभर तनावग्रस्त बनेको छ । बिहान वीरेन्द्रनगर नगरपालिका-३ गौतमचोक नजिकै टिपरले किचेर एक युवकको मृत्यु भएपछि सुरु भएको आन्दोलन उग्र बनेपछि वीरेन्द्रनगर बजार क्षेत्र तनावग्रस्त बनेको हो । तनावपूर्ण बनेको वीरेन्द्रनगरमा स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ ।
प्रशासनले सूचना जारी गर्दै साँझ साँढे ६ बजेदेखि बिहान ६ बजेसम्मका लागि कर्फ्यु लगाइएकाे जनाएको हो ।प्रहरी र प्रदर्शनकारीबीच भएको झडप हुँदा स्थिति तनावपूर्ण बनेपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो ।
ट्रिपरको ठक्करबाट आज विहान एक जनाको मृत्यु भएको विषयलाई लिएर स्थानीय प्रदर्शनमा उत्रिएका थिए । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर समेत गरेको थियो ।
प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा परी ८ जना भन्दा बढी घाइते भएका छन् । कालीकोट महावै गाउँपालिका– ३ सिमखेत घर भएका २० वर्षीय केशर सिंहको ट्रिपरको किचेर आज विहान मृत्यु भएको थियो ।
स्थानीयका अनुसार जुम्लाका २५ वर्षीय महेश गौतम, दैलेखका १६ वर्षीय हिदेशकुमार शाही, दैलेखका १७ वर्षीय कृष्णबहादुर थापा, दैलेखकै १७ वर्षीय गोकुल गिरी, कालीकोटका कमान सिंहलगायत ८ जना घाइते भएका छन् ।