नेपालसँग सिरिज खेल्ने अेरिकन टिममा टेष्ट खेलिसकेका क्रिकेटर!
काठमाडौंः माघ २२ गतेदेखि कीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा सुरु हुने आइसीसी क्रिकेट विश्वकप लिग–२ का लागि नेपाल, अमेरिका र ओमानले टोली घोषणा गरिसकेका छन् । टोली घोषणासँगै सबै टीम अहिले अभ्यासमा व्यस्त छन् । अमेरिकाले यूएई भ्रमण गरेको १४ सदस्यीय टोली नै दोहोर्याएको छ । नेपाल आउनुअघि अमेरिकन टीमले अहिले भारतको मुम्बईमा अभ्यास गरिरहेको छ ।
त्रिकोणात्मक सिरिजमा अमेरिकी टीमको नेतृत्व बलर सौरव नेत्रभाल्करले गर्ने छन् । अमेरिकन टीम भारत, अष्ट्रेलिया, दक्षिण अफ्रिका, इंग्ल्याण्ड र वेष्ट इन्डिजमूलका खेलाडीले भरपूर्ण छ । अब चर्चा गरौं त्रिकोणात्मक सिरिज खेल्ने अमेरिकाको टोलीमा रहेका कुन खेलाडी कुन मूलका?
सौरव नेत्रभाल्करः भारतीय मूलका सौरबले पपुवा न्यूगिनीविरुद्ध २०१९ मा डेब्यू गरेका थिए । अहिलेसम्म उनले ९ एक दिवसीय क्रिकेट म्याचमा १३ विकेट लिएका छन् ।
स्टेभन टेलरः उनी लेफ्ट ह्याण्डेड ओपनर ब्याट्सम्यान हुन् । टेलरले पनि २०१९ मै डेब्यू गरेका थिए । उनले ९ खेलमा अहिलेसम्म १८२ रन बनाउँदा सर्वाधिक ठूलो स्कोर ५६ रन हो । वेष्ट इनिडज मूलका टेलरले ग्लोबल टी–२०, सीपीएल लगायत लिग खेलिसकेका छन् । उनी छक्का–चौका प्रहार गर्न माहिर छन् ।
कारिम गोरेः उनी बुर्मडा मूलका लेफ्ट आर्म लेग स्पिन बलर हुन् । अहिलेसम्म उनले ७ एक दिवसीय क्रिकेटमा ९ विकेट लिएका छन् । यसैगरी ब्याटिङ पनि गर्ने उनले ११२ रन बनाएका छन् । गोरेको उच्च स्कोर ३१ रन हो ।
इयान होल्याण्डः इयानले इंग्ल्याण्डका ह्याम्पसायरबाट काउन्टि क्रिकेट पनि खेलेका छन् । अलराउण्डर उनले ४ एक दिवसीय क्रिकेटमा ७६ रन जोडेका छन् । उनको सर्वाधिक स्कोर ४४ रन हो । इयानले अहिलेसम्म बलिङबाट ५ विकेट पनि लिएका छन् ।
अक्षय होमराजः उनी अमेरिकन क्रिकेट टीमका विकेटकिपर–ब्याट्सम्यान हुन् । गत वर्षमात्रै एक दिवसीय क्रिकेटमा डेब्यू गरेका होमराजले ४ पारिमा ९९ रन बनाएका छन् । उनको सर्वाधिक स्कोर ३४ हो । विकेट किपङ गर्दा ७ जना विपक्षी ब्याट्सम्यानलाई क्याच आउट गरेका छन् ।
एलमोर हुचिनसनः उनी अमेरिकन टिमका सवैभन्दा अनुभवी खेलाडी हुन् । ३७ वर्षीय हुचिनसन जमैकाका हुन् । उनी राइट ह्याण्ड ब्याट्सम्यान र लेफ्ट आर्म मिडियम पेस बलर हुन् । उनले बलिङबाट अहिलेसम्म विकेट हात पार्न सकेका छैनन् भने उनको ब्याटबाट ७१ रन बनेको छ । उनको सर्वाधिक स्कोर नट आउट ४२ रन हो ।
आरोन जोन्सः उनी वेष्ट इनिडजमूलका राइट ह्याण्डेड ब्याट्सम्यान हुन् । २५ वर्षीय जोन्सले अहिलेसम्म ९ एक दिवसीय क्रिकेटमा ३४८ रन बनाएका छन् । उनको सर्वाधिक ठूलो स्कोर ९५ रन हो । करियरमा तीन पटक अर्धशतक बनाइसकेका छन् । जोन्सले क्यारेबियन प्रिमयिर लिग (सीपीएल) पनि खेलिसकेका छन् ।
नोस्तुस केनिइजीः उनी लेफ्ट आर्म स्पिन बलर हुन् । उनले एक दिवसीय क्रिकेटका ४ खेलमा ३ विकेट लिएका छन् । चार खेलमा २ पटक ब्याटिङमा आएका उनले अहिलेसम्म ७ रन जोडेका छन् । उनको सर्वाधिक स्कोर ६ रन हो ।
जाभिएर मार्सलः जाभिएरले वेष्ट इन्डिजबाट ७ टेष्ट, ३३ वानडे र १३ टी–२० म्याच खेलिसकेका छन् । उनी टीमका अनुभवी खेलाडी पनि हुन् । टेस्ट क्रिकेटमा उनले २४३ रन बनाएका छन् । एकदिवसीय क्रिकेटमा अष्ट्रेलियाविरुद्ध सन् २००५ डेब्यू गरेका मार्सलले ३३ खेलमा ५४२ रन बनाएका छन् । उनको उच्च स्कोर नटआउट १ सय ५७ रन हो । उनले करियरमा एक शतक र २ पटक अर्धशतक बनाएका छन् । उनी अफ स्पिन बलर पनि हुन् । उनी सीपीएल पनि खेलिसकेका छन्
मोनाक पटेलः उनी भारतीय मूलका क्रिकेटर हुन् । विकेटकिपर–ब्याट्सम्यान रहेका उनले ९ खेलमा २८२ रन बनाएका छन् । उच्च स्कोर ८२ रन रहेका पटेलले २ पटक अर्धशतक पनि बनाएका छन् ।
निसर्ग पटेलः उनी पनि भारतीय मूलका हुन् । राइट ह्याण्ड ब्याट्सम्यान तथा स्लो लेफ्ट आर्म अर्थोडक्स बलर हुन् । उनले ६ एक दिवसीय क्रिकेटमा ८८ रन बनाएका छन् भने सर्वाधिक स्कोर ४० रन हो । यसैगरी बलिङतर्फ पटेलले ७ विकेट हात पारेका छन् ।
तिमिल पटेलः ३६ वर्षीय तिमिल पनि भारतीय मूलका खेलाडी हुन् । अलराउण्डरको रुपमा अमेरिकाका लागि ५ खेलमा ५५ रन बनाउँदा सर्वाधिक स्कोर नट आउट ५० रन जोडेका छन् । उनले ६ विकेट पनि लिएका छन् ।
क्यामरुन स्टेभनसनः क्यामरुनले बिग बास लिग (बीबीएल) मा मेलबर्न रेनेगेड्सबाट खेलिसकेका छन् । उनी अस्ट्रेलियन क्रिकेटर हुन् । क्यामरुनले चार इनिङमा ३८ रन बनाएका छन् । उनको सर्वाधिक स्कोर ३४ रन नट आउट हो । बलिङ तर्फ भने उनले अहिलेसम्म ९ विकेट हात पारेका छन् ।
रोस्टे थिरोनः उनी दक्षिण अफ्रिकी मूलका क्रिकेटर हुन् । उनले दक्षिण अफ्रिकबाट एक दिवसीय क्रिकेट खेलिसकेका छन् । फास्ट बलर थिरोनले अहिलेसम्म ९ खेलमा १७ विकेट लिइसकेका छन् ।