पुजारीकै घरबाट ४ सय बर्ष पुरानो महादेवको मूर्ति चोरी भएपछि......
साँखु। शङ्खरापुर नगरपालिकाको साँखुबाट ४०० वर्ष पुरानो ज्योतिलिङ्गेश्वर महादेवको मूर्ति चोरी भएको छ । साल्खा महादेवस्थानको नामले चिनिने सुनको जलप लगाएको तामाको प्रतिमूर्ति साँखुका मूल पुरोहित सुदनराज राजोपाध्यायको घरबाट मंगलबार राति चोरी भएको हो ।
हरेक वर्ष जनैपूर्णिमाको जात्रामा पूजा गरिने अन्दाजी २.५ फिटको चारमुखी ज्योतिलिङ्गेश्वर महादेवको मूर्ति मध्यरातमा घरबाटै चोरी भएको पूजारी सुदनराज राजोपाध्यायले जानकारी दिए । भूकम्पले मूर्ति राख्ने घर भत्किएपछि पूजारीकै घरमा मूर्ति राख्ने गरिएको थियो । पूजारीको काका नाता पर्ने आनन्दराज राजोपाध्याय राति शौचालय जान खोज्दा घरको ढोकामा बाहिरबाट चुकुल लगाएको पाएपछि उनी झ्यालबाट निस्किएका थिए ।
मूर्ति राखिएको कोठाको ढोका खुल्ला देखिएपछि गएर हेर्दा चोरी भएको थाहा पाएको राजोपाध्यायले बताए । उनी भन्छन्, “अन्य कोठामा समेत बाहिरबाटै चुकुल लगाएको देखेपछि महादेवको मूर्ति राख्ने कोठामा गए, हेर्दा मूर्ति नभेटिएपछि तत्कालै छिमेकी र प्रहरीलाई खबर गरिहाँले ।”
उनका अनुसार घरको पर्खालमा रहेको गमला फुटेको र पर्खाल नजिकै मूर्तिमा रहेको महादेवको नाग भेटिएकाले घरको पर्खाल चढेर मूर्ति चोरेको हुनसक्ने आशङ्का रहेको छ । मूर्ति राखिएको पूजारीको घरमा व्रतालुसमेत बस्ने गरेकाले व्रतालुलाई आवतजावतमा समस्या नहोस् भनी मूलद्वारमा तालासमेत लगाउने गरेको थिएन ।
मुर्ति चोरी