News

सभामुख सापकोटाद्वारा चार विधेयक प्रमाणीकरण

सभामुख सापकोटाद्वारा चार विधेयक प्रमाणीकरण

काठमाडाैँ – प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले ४ विधेयकलाई प्रमाणीकरण गरेका छन् । उनले विगत साढे ४ महिनादेखि संघीय संसद्को सचिवालयमा थन्किएर बसेका ती विधेयकलाई प्रक्रियाअनुसार प्रमाणीकरण गरेका हुन् ।

सभामुखको जिम्मेवारी सम्हालेको दुई दिनपछि नै सापकोटाले प्रहरी समायोजन विधेयक–२०७५, भूमि सम्बन्धी (आठौं संशोधन) विधेयक–२०७५, राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विधेयक–२०७५ र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, परिवेक्षण र समन्वय) विधेयक–२०७५ लाई बुधबार प्रमाणीकरण गरेका हुन् ।

प्रतिनिधिसभामा दर्ता भएका राष्ट्रिय परिचयपत्रसम्बन्धी विधेयक गत २ असोज र अन्य तीन विधेयक १ असोज २०७६ मा राष्ट्रियसभाले पारित गरी प्रतिनिधिसभामा पठाएको थियो ।

पाँच महिनाअघि नै प्रतिनिधिसभामा आएका ति विधेयक सभामुखको पद रिक्त हुँदा थन्किएर बसेका थिए । प्रतिनिधिसभाका तत्कालीन सभामुख कृष्णबहादुर महरा असोज पहिलो साता नै कजाकस्तानमा हुने सभामुखहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन गएका थिए ।

कजाकस्तानबाट नेपाल फर्किएको दुई/तीन दिनपछि नै महरामाथि संसद् सचिवालयकै कर्मचारी रोशनी शाहीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि १४ असोजमा पदबाट राजीनामा दिएका थिए ।

संविधान बमोजिम प्रतिनिधिसभामा उत्पति भई राष्ट्रियसभाले समेत पारित गरी आएका विधेयकको सभामुखले प्रमाणीकरण गर्नुपर्छ । तर, सभामुख महराले पदबाट राजीनामा दिएपछि संसद्ले १२ माघमा मात्र सापवकोटालाई सभामुखमा निर्वाचित गरेको थियो ।

संविधानबमोजिम सभामुखले प्रमाणीकरण गरी पठाएको विधेयक राष्ट्रपतिले प्रमाणित गरेपछि राजपत्रमा प्रकाशित गरेपछि कानुनको रुपमा कार्यान्वयन हुन्छ ।

विशेष