News

वर्किङ भिसाको प्रलोभन देखाएर ठगी धन्दा : पोल्यान्ड हिँडेका १७ नेपाली चार महिना अजरबैजानमा बन्धक

वर्किङ भिसाको प्रलोभन देखाएर ठगी धन्दा : पोल्यान्ड हिँडेका १७ नेपाली चार महिना अजरबैजानमा बन्धक

काठमाडौँ। सर्लाही लालबन्दीका २९ वर्षीय लीलाराज थापाको पोल्यान्ड जाने सपना त्यतिवेला तुहियो, जतिवेला उनी पूर्वी युरोपेली मुलुक अजरबैजानमा बन्धक बने । उनी १७ जना नेपालीसँगै बन्धक बनेका थिए । प्रतिमहिना सात सय युरो कमाउने सपना बोकेका उनले दलाललाई आठ लाख रुपैयाँ बुझाएका थिए । तर, उनले पोल्यान्ड टेक्नसमेत पाएनन् । चार महिनाको बन्धक जीवनपछि उनी ज्यान जोगाएर नेपाल फर्किएका छन् ।

डुबेको रकम उठाउने चक्करमा कहिले प्रहरी त कहिले वैदेशिक रोजगार विभाग धाइरहेका उनले नयाँ पत्रिकासँग भने, ‘वर्किङ भिसामा पोल्यान्ड लैजाने भन्यो । कमाइ प्रतिमहिना सात सय युरो हुने प्रलोभन दियो । यसका लागि आठ लाख रुपैयाँ बुझाउनुपर्ने भन्यो । बेरोजगार हामी दलालको प्रलोभनमा फस्यौँ । ऋण गरेर उसले मागेजति रकम दियौँ । लगेर हामीलाई अजरबैजान पुर्‍यायो । चार महिना बन्धक बनाएर राख्यो । विभिन्न प्रयास गरेर हामी भागेर नेपाल फक्र्यौँ ।’

थापाका अनुसार बन्धक बनेका १७ नेपाली पनि उनीजस्तै पोल्यान्ड नै हिँडेका थिए । यसबापत उनीहरूले पनि दलाललाई सातदेखि आठ लाख रुपैयाँ तिरेका थिए । तर, उनीहरूले पनि त्यही दुर्गति भोगे, जुन थापाले भोगे । उनले भने, ‘मसँगै मेरै गाउँका खुम थापा पनि गएका थिए । अजरबैजानको एयरपोर्टमा उत्रियौँ । मनोजकुमार भनिने एक भारतीय एजेन्टले हामीलाई एउटा घरमा लग्यो । त्यहाँ पुग्दा त हामीजस्तै पोल्यान्ड हिँडेका १७ भाइ भेट्यौँ । जो पछि हामीसँगै बन्दी बने ।’  यो समाचार आजको नयाँ पत्रिकामा टेकराज थामीले लेखेका छन। 

वर्किङ भिसा

विशेष