अख्तियारलाई कागजातसहित १५ दिनभित्र उपस्थित हुन सर्वोच्चको आदेश
काठमाडाैँ – सर्वोच्च अदालतले नेपाल आयल निगमका पूर्व महाप्रवन्धक युवराज शर्माको भ्रष्टाचार सम्बन्धी मुद्दामा १५ दिनभित्र कागजातसहित हाजिर हुन अख्तियारको नाममा ‘अन्तिम’ आदेश जारी गरेको छ ।
न्यायाधीशहरु मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासले बिहीबार दिएको आदेशमा सचिव न्यौपानेलाई अनिवार्य उपस्थित हुन भनिएको छ ।
नेपाल आयल निगमका तत्कालिन महाप्रबन्धक युवराज शर्माको भ्रष्टाचार मुद्दाको अभिलेख अख्तियारले पटक पटक ताकेता गर्दा पनि दिन नसकेपछि अदालतले उक्त मुद्दाको कागजात अभिलेख खोजी १५ दिनभित्र उपस्थित हुन आदेश दिएको हो ।
सर्वोच्च अदालतले उक्त मुद्दाका सन्दर्भमा यसअघि पटक पटक जारी भएका आदेशको छायाँप्रति समेत संलग्न गरी अन्तिम पटक कागजात पेश गर्न अन्तिम पटक आदेश दिएको छ ।
आदेशमा भनिएको छ ‘सामान्य प्राविधिक कारण देखाई अदालतबाट माग गरिएका मुद्दासँग सम्बन्धित अभिलेख पेश गर्न आलटाल गर्ने र जिम्मेवारीबाट पन्छिन खोज्ने प्रवृतिलाई उचित ठान्न सकिन्न ।’
यसअघि पनि आयोगका सचिवलाई सम्बोधन गरि २०७५ कात्तिक ८ र फागुन २३ गते यस्तै आदेश जारी भएको थियो ।