News

१ हजार मेगावाट विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिँदै

१ हजार मेगावाट विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिँदै

काठमाडौं।  चालू आर्थिक वर्षभित्र १ हजार ४ मेगावाट विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिने भएको छ । यो वर्ष विभिन्न ५० वटा आयोजना केन्द्रीय प्रसारण लाइनमा थपिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । यी आयोजनाको विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिँदा हालको मागभन्दा बढी विद्युत् उत्पादन हुने भएपछि प्राधिकरणले विद्युत् बेच्ने तयारीसमेत गर्न लागेको हो ।

निर्माणाधीन ५० वटा आयोजना यसै वर्ष सम्पन्न हुने प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताएका छन् । उनले भने, ‘यो वर्ष १ हजार मेगावाटभन्दा बढी विद्युत् केन्द्रीय प्रणालीमा जोडिँदै छ ।’ ‘हामीले सबै ठाउँमा प्रसारण लाइन निर्माण गरी सकेका छैनौं, यो अवस्थामा विद्युत् उत्पादनसँगै चुनौती पनि थपिएको छ । त्यसकारण हामीले वैकल्पिक प्रसारणको प्रयोग गर्नुपर्ने देखिन्छ । यो विद्युत् प्रसारण लाइनमा जोडिँदा हालको मागलाई धान्न सक्ने देखिन्छ’, प्रवक्ता अधिकारीले बताए ।

प्राधिकरणका अनुसार हाल नेपालको पिक समयको विद्युत् माग १ हजार १६८ मेगावाट रहेको छ । जसमध्ये प्राधिकरणबाट ४८१ मेगावाट विद्युत् केन्द्रीय प्रणालीमा जोडिएको छ । निजी क्षेत्रबाट ३२० मेगावाट र भारतबाट ३६७ मेगावाट आयात गरेर विद्युत् आपूर्ति गरिँदै आएको छ। यो समाचार आजको राजधानी  दैनिकमा पूजा चँदाराले लेखेकी छिन।  

विद्युत् प्रसारण लाइन

विशेष